सुरक्षाका कारण समयमै चुनाव हुनेमा शंका : सभामुख घिमिरे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८२, आईतवार ०६:४५

काठमाडौँ । सभामुख देवराज घिमिरेले आसन्न निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच अविश्वास बढिरहेको बताएका छन्। वीरता जेसिज विर्तामोडले शनिबार आयोजना गरेको ‘सङ्कटपछि देशको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले सुरक्षासम्बन्धी चुनौतीका कारण तोकिएको समयमा निर्वाचन हुनेमा समेत शंका पैदा भएको बताए।

सभामुख घिमिरेका अनुसार मुलुकमा राजस्व सङ्कलन कमजोर हुँदै गएको, सामान्य प्रशासनिक खर्चसमेत धान्न सरकारले ऋण लिनुपर्ने अवस्था सिर्जना भएको र यस्तो परिस्थितिमा आर्थिक सुधारका लागि निजी क्षेत्रलाई विश्वासमा लिनु अत्यावश्यक भएको छ।

उनले भने, “मुलुकमा अराजक गतिविधि बढ्दै जाँदा निजी क्षेत्र लगानी गर्न हिचकिचाइरहेको अवस्था छ। सुरक्षाका कारण मनोबल कमजोर भएको छ, त्यसैले निजी क्षेत्रलाई लगानी–अनुकूल वातावरण बनाउनुपर्छ।”

कार्यक्रम वीरता जेसिजका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न भयो। लिड नेपालका प्रधान सम्पादक राजेन्द्र बाँनियाले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र, नविल बैंकका कार्यकारी प्रमुख मनोज ज्ञवाली, उद्योग वाणिज्य महासङ्घका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, वीरता जेसिजका समन्वय संयोजक भूपेन्द्र भण्डारी, नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीलगायतले देशको पछिल्लो आर्थिक अवस्थाबारे आफ्ना धारणा राखेका थिए।

प्रतिक्रिया

Leave a Reply