पुराना दल सकिन्छन् भन्ने सोच गलत: अध्यक्ष ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ मंसिर २०८२, आईतवार ०६:४०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना राजनीतिक दलहरू समाप्त हुन्छन् वा हुन सक्छन् भन्ने धारणा भ्रमपूर्ण भएको टिप्पणी गरेका छन्।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित एमालेको मुखपत्र ‘नवयुग’ ई-बुलेटिन शुभारम्भ समारोहमा उनले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्ध विगतदेखि देखिएको घेराबन्दी तोड्ने र पार्टीलाई नयाँ राजनीतिक उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

ओलीले महाधिवेशनलाई लोकतन्त्रको सफलतासँग जोड्दै सबै नेता–कार्यकर्तालाई जिम्मेवारीपूर्वक लाग्न आग्रह गरे। “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो, त्यसैले यसलाई भव्य र सफल बनाउन हामी सबै सक्रिय हुनुपर्छ,” उनले भने।

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले मुलुक जटिल राजनीतिक परिस्थिति हुँदै अघि बढिरहेको बताउँदै यस्तो अवस्थामा सक्षम राजनीतिक नेतृत्व अत्यावश्यक रहेको उल्लेख गरे। उनले पार्टीभित्र प्रतिस्पर्धाभन्दा एकताको आवश्यकता बढी रहेको टिप्पणी गरे।

त्यसैगरी, महाधिवेशन प्रचार समितिकी संयोजक पद्मा अर्यालले पार्टीका गतिविधि प्रभावकारी रूपमा जनतासमक्ष पुर्‍याउने उद्देश्यले नवयुग ई-बुलेटिन सुरु गरिएको जानकारी दिइन्। उनका अनुसार हरेक दिन बेलुका ७ बजे महाधिवेशनसम्बन्धी सामग्री ई-बुलेटिनमार्फत प्रकाशित हुनेछ।

प्रतिक्रिया

Leave a Reply