काठमाडौँ । नेपाली कांग्रेसले आसन्न राष्ट्रियसभा र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला र क्षेत्रीय समितिका सभापतिलाई सम्बोधन गर्दै उम्मेदवार सिफारिसका विषयमा निर्देशन दिएका हुन्। सरकारले प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा सदस्य निर्वाचन माघ ११ गतेका लागि तोकेको छ। पत्रमा विधानअनुसार प्रदेश कार्यसमितिले के–के काम गर्ने भन्ने पनि स्पष्ट गरिएको छ।
प्रत्येक प्रदेश कार्यसमितिले संविधानको धारा ८६ उपधारा २ क बमोजिम राष्ट्रिय सभा सदस्यको लागि मातहतका जिल्लाबाट योग्यता पुगेको सम्भावित नामको सूची माग्नेछ। प्राप्त नाममध्ये एक सिटका लागि तीन जनाको नाम सहमति अनुसार पठाउनेछ। सहमति नभएमा बहुमतबाट निर्णय गरी केन्द्रमा पठाइनेछ ।
यसैअनुसार प्रत्येक प्रदेशबाट निर्वाचित हुने राष्ट्रिय सभा सदस्यका लागि ३/३ जनाको दरले योग्यता पुगेका नामको सूची ०८२ मंसिर मसान्तभित्र पार्टी केन्द्रमा पठाउन निर्देशन गरिएको छ ।
यस्ता छन् १० शर्त तथा योग्यता
१, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने।
२, जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसङ्गतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुनेछन्।
३, २०७९ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन पाउने छैनन्।
४, प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्द सूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न पाइने छैन।
५, तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न पाइनेछैन।
६, प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पद मध्ये कुनै एक व्यक्ति एक पदका लागि मात्र सिफारिस गर्नु पर्नेछ।
७, प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारको लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपि पेस गर्नु पर्नेछ।
८, प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिबद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणापत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनु पर्नेछ।
९, २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न पाइनेछैन।
१०, पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरूले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ। सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्।
प्रतिक्रिया