टोकियो, जापान । जापानमा लामो समयदेखि सामाजिक तथा व्यावसायिक क्षेत्रमा सक्रिय रहँदै आएका समाजसेवी एवं व्यवसायी ददिवल खड्का ले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
खड्काले सन २०२५–२०२७ कार्यकालका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन र विश्वभर फैलिएको नेपाली समुदायबीच सहकार्य मजबुत बनाउने लक्ष्यसहित नेतृत्वमा आउन चाहेको बताउनुभएको छ।
जापानस्थित नेपाली समुदायमा सक्रिय अभियन्ताका रूपमा चिनिने खड्का विगत डेढ दशकदेखि एनआरएनए अभियानसँग जोडिँदै आउनुभएको छ। उहाँले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
खड्काका अनुसार, एनआरएनए केवल विदेशमा बस्ने नेपालीहरूको साझा संस्था मात्र नभई नेपाल र विश्वभर फैलिएको नेपाली समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम हो। त्यसैले संस्थाको नेतृत्वले विश्वभर रहेका नेपालीहरूको साझा हितलाई केन्द्रमा राखेर काम गर्नु आवश्यक रहेको उहाँको धारणा छ।
जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान, तथा विपद् राहत सहयोग जस्ता गतिविधिमा खड्काको सक्रिय सहभागिता रहँदै आएको छ। साथै, उहाँ नेपाली समुदायबीच सहकार्य बढाउने, नयाँ पुस्तालाई सामाजिक अभियानमा जोड्ने र नेपाली भाषा, संस्कृति र पहिचान प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहँदै आउनुभएको छ।
व्यवसायिक क्षेत्रमा पनि खड्का स्थापित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँले व्यवसायिक गतिविधिमार्फत नेपालीहरूका लागि रोजगारी तथा अवसर सिर्जना गर्दै आएका छन्। जापानस्थित नेपाली व्यवसायी संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका खड्का विभिन्न संघसंस्थासँग पनि आवद्ध रहँदै आउनुभएको छ।
एनआरएनए अभियानमा खड्काको लामो अनुभव छ। उहाँ यसअघि:
सन २०१७–२०१९: एनआरएनए जापान सल्लाहकार
सन २०१९–२०२१: अन्तर्राष्ट्रिय समन्वय परिषद (आईसिसी) सदस्य
सन २०२१–२०२३: एनआरएनए एसिया–प्यासिफिक उपसंयोजक
उम्मेदवार खड्काले आफ्नो उम्मेदवारीमार्फत:
विदेशमा रहेका नेपालीहरूले भोग्ने कानुनी तथा प्रशासनिक समस्याहरू समाधान
प्रवासी नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी प्रोत्साहन
दोस्रो पुस्ताका नेपाली युवालाई एनआरएनए अभियानमा जोड्ने
संस्थाभित्र देखिने विभाजन अन्त्य गरी पारदर्शी र एकताबद्ध संगठन निर्माण गर्ने
गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन आगामी मार्च १४–१६ सम्म काठमाडौंमा आयोजना हुँदैछ, जसबाट नयाँ नेतृत्व चयन हुनेछ।
प्रतिक्रिया