काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भदौ २३ र २४ गतेको प्रदर्शनका समयमा विभिन्न प्रहरी कार्यालयबाट लुटिएका सामग्रीसहित उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरूमा काठमाडौँ कलंकीका २८ वर्षीय रसिल जोशी, दार्चुला घर भई काठमाडौँको सुन्धारा बस्ने १९ वर्षीय रामचन्द्र कुँवर (डेबिड) र काठमाडौँ बाफलका ३१ वर्षीय विराटप्रसाद जोशी रहेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार आन्दोलनका क्रममा प्रहरीका हतियार लुटपाट गरी लुकाइराखिएको विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले उनीहरूबाट नेपाल प्रहरी लेखिएको एक थान पेस्तोल र विभिन्न कम्पनीका दुई थान मोबाइल सेट बरामद गरेको जनाएको छ।
अनुसन्धानमा रसिल जोशी लागुऔषध मुद्दामा प्रहरी वृत्त स्वयम्भुमा थुनामा रहेको अवस्थाबाट ‘जेनजी’ आन्दोलनको मौका छोपेर भागेको तथ्य खुलेको प्रवक्ता आचार्यले बताए।
पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
प्रतिक्रिया