काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व इन्चार्ज कर्ण थापामाथि पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा अभद्र व्यवहार भएको आरोप लागेको छ।
आइतबार केन्द्रीय कार्यालय च्यासलमा एघारौँ महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रमका क्रममा सहभागी हुन पुगेका थापासँग अभद्र व्यवहार गरिएको हो। घटनामा संलग्न व्यक्ति अध्यक्ष ओलीको सुरक्षामा खटिएका कृष्णसागर वली रहेको कार्यक्रमस्थलमा रहेका केही नेताहरूले बताएका छन्।
घटनापछि वलीको विगत सम्बन्धी प्रश्न उठाइएको छ। उपलब्ध न्यायिक र प्रहरी अभिलेखहरू अनुसार वली विगतमा गम्भीर आपराधिक मुद्दाहरूमा सम्लग्न रहेका र अदालतबाट सजायसमेत भोगिसकेका व्यक्ति भएको उल्लेख छ। यद्यपि, घटनाको आधिकारिक पुष्टि तथा थप विवरण एमाले नेतृत्व वा सुरक्षा निकायले भने सार्वजनिक गरेका छैनन्।
थापामाथि अभद्र व्यवहार भएको विषय पार्टीभित्रै व्यापक चर्चा भएको छ। नेताहरूले सुरक्षामा तैनाथ व्यक्ति स्वयं विवादित पृष्ठभूमिका हुनु गम्भीर विषय भएको प्रतिक्रिया दिएका छन्।
घटनाबारे पार्टी केन्द्रीय कार्यालयले औपचारिक टिप्पणी भने अहिलेसम्म जारी गरेको छैन।
प्रतिक्रिया