काठमाडौं। नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले न्यायालयका केही न्यायाधीशहरूले मुद्दाको आफूअनुकूल व्याख्या गर्ने गतिविधि दोहोरिए न्यायिक प्रणालीमाथि गंभीर आक्रमण हुने चेतावनी दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न आज (बुधबार) नख्खु कारागार पुगेका नेता शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै “अहिलेसम्म त न्यायालय मात्रै जलेको छ, भोलि अदालतभित्रै छिरेर मान्छे जलाउने दिन आउन सक्छ” भन्ने कडा चेतावनी दिएका हुन्।
उनका अनुसार न्यायिक प्रक्रियामा निष्पक्षता र समानता सुनिश्चित नभए सामुदायिक आक्रोश बढ्दै जाने खतरा रहन्छ। शर्मा भन्छन्, “यदि न्याय सम्पादन सही ढंगले भएन, मुद्दा स्वार्थअनुसार व्याख्या भयो भने गम्भीर परिणाम देखिन सक्छ।”
शर्माले समान प्रकृतिका मुद्दामा सर्वसाधारणका लागि एउटै मापदण्ड कायम गर्नुपर्ने भन्दै स्वयम्भुको आँखाले हेरेझैं निष्पक्ष निर्णय गर्न न्यायाधीशहरूलाई सुझाव दिए।
एमाले र माओवादीका कार्यकर्तालाई “आम छुट” दिने तर एउटै व्यक्तिमाथि मात्रै कठोरता देखाउने प्रवृत्ति आफूले देखिएको उल्लेख गर्दै उनले न्यायिक क्षेत्रले विश्वास पुनःस्थापित गर्न आवश्यक कदम चाल्नुपर्ने बताए।
प्रतिक्रिया