काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाले १२ औँ नगर स्थापना दिवसको अवसरमा यहि मंसिर १३ गते शनिबार बिहान ७:३० बजे हात्तीगौँडाबाट सुरु हुने गरी साइकल र्याली आयोजना गर्ने भएको छ। नगरपालिकाका अनुसार र्यालीमा नगरवासी, जनप्रतिनिधि, कर्मचारी, Gen-Z युवा–युवती, समाजका अगुवाहरू, समाजसेवी तथा पर्यटकहरू समेत सहभागी हुन सक्नेछन्।
साइकल र्यालीमा सहभागी हुन चाहनेहरुले अनिवार्य रुपमा Google फारम वा नगरपालिका कार्यालयमा गई फारम भर्नुपर्नेछ। फारम भर्ने मिति मंसिर ११ गते कार्यालय समयभित्र रहनेछ।
साइकल र्यालीका विषयमा नगरका प्रवक्ता नवराज भट्टराईले भने— “साइकल र्यालीले नगरवासीलाई स्वस्थ र सक्रिय जीवनशैलीतर्फ प्रेरित गर्नुका साथै बुढानीलकण्ठको हराभरा पहाड, संस्कृति र पर्यटन सम्भावनालाई देश–विदेशमा चिनाउने उल्लेख्य अवसर हो। हामी सबै नागरिक र आगन्तुकलाई उत्साहका साथ सहभागी हुन आह्वान गर्दछौँ।”
र्यालीमार्फत बुढानीलकण्ठको पर्यावरणीय सुन्दरता, सांस्कृतिक सम्पदा, स्थानीय व्यवसाय र पर्यटन गतिविधि प्रवर्द्धन गर्ने लक्ष्य नगरपालिकाले राखेको छ।
सहभागीहरूले Google फारम लिंक वा QR मार्फत दर्ता गर्न सक्नेछन्।
थप विवरणका लागि भोलाराज ढुङ्गाना, शाखा अधिकृत (९८४३१३८२७३) सँग सम्पर्क गर्न सकिनेछ।
नगरपालिकाले यस साइकल र्यालीलाई “सक्रिय जीवनशैली, समुदायिक सहभागिता र स्थानीय पर्यटन विकास” को अभियानका रूपमा अघि सारिएको जनाएको छ।
प्रतिक्रिया