काठमाण्डौ क्षेत्र नं ४ को महाधिवेशन प्रतिनिधि मनोनयन स्थल फेरबदल, अब जिल्ला कमिटी कार्यालयमै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ मंसिर २०८२, बुधबार ०७:२९

काठमाडौँ । नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ ले महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई तीव्र बनाउँदै मनोनयन दर्ता कार्यतालिकालाई अन्तिम रूप दिएको छ। सुरुमा चाबहिल–गणेशस्थानस्थित क्षेत्रीय कार्यालयमा मनोनयन दर्ता गर्ने योजना रहे पनि स्थान अभावका कारण अब मनोनयन दर्ता नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको कार्यालय (धोबीखोला कोरिडोर, ओम अस्पतालअगाडि) मा हुने भएको क्षेत्रीय संयोजक राजन कुमार पोखरेलले जानकारी दिए।

स्थान परिवर्तनसहित क्षेत्र नं ४ मा महाधिवेशन तयारी फाइनल मोडमा

महाधिवेशन प्रतिनिधि चयनलाई व्यवस्थित र पारदर्शी बनाउन क्षेत्रीय र जिल्ला कमिटीले निर्माण गरेको कार्यदल सक्रिय रूपमा काम गरिरहेका छन्। मनोनयन दर्ताको स्थान परिवर्तनपछि अब सम्पूर्ण प्रक्रिया जिल्ला कमिटी कार्यालयमै केन्द्रीकृत रूपमा हुने छ।

क्षेत्रीय संयोजक पोखरेलका अनुसार, “मनोनयन दर्तामा सहजता, व्यवस्थापनको एकरूपता र भीड व्यवस्थापनका कारण जिल्ला कमिटी कार्यालयमै प्रक्रिया सारिएको हो।” यससँगै क्षेत्र नं ४ का सम्भावित उम्मेदवार, प्रतिनिधि तथा कार्यकर्ताहरूको चहलपहल बिहानैदेखि बढ्ने अनुमान गरिएको छ।

यस्तो छ मनोनयन दर्तासम्बन्धी पूर्ण कार्यतालिका

१) मतदाता नामावली प्रकाशन — मंसिर ९ गते
२) प्रतिनिधि उम्मेदवारी मनोनयन दर्ता — मंसिर १० गते, दिउँसो १२ बजे–४ बजे
३) प्रतिनिधि उम्मेदवारी फिर्ता — मंसिर १२ गते, दिउँसो ३ बजेसम्म
४) अन्तिम उम्मेदवारी सूची प्रकाशन — मंसिर १२ गते, दिउँसो ४ बजे
५) मतदान — मंसिर १३ गते, बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म

क्षेत्र नं ४ मा प्रतिस्पर्धा चर्किँदै

महाधिवेशन प्रतिनिधिमा दाबेदारहरूको संख्या बढिरहेकाले क्षेत्र नं ४ मा यसपटक प्रतिस्पर्धा चर्किएको विश्लेषकहरूको अनुमान छ।
संगठन, नेतृत्व क्षमत्ता, स्थानीय समदायमा प्रभाव, र कार्यकर्ताबीचको लोकप्रियता—यी सबै आधारमा उम्मेदवारहरू मैदानमा उत्रिँदै छन्।

प्रतिक्रिया