बहुविवाह मुद्दामा एमालेका नेता पासाङ शेर्पा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० कार्तिक २०८२, बुधबार ०६:१२

काठमाडौँ ।  नेकपा एमालेका नेता पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् । काठमाडौँ प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार पक्राउ गरिएको हो ।

यसअघि, २०८१ असोजमा उच्च अदालत पाटनले नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको थियो । उच्च अदालतका न्यायाधीशद्धय डालकुमार खड्का र डिल्लिरत्न श्रेष्ठको इजलासले असोज ६ गते शेर्पालाई बहुविवाहमा दोषी ठहर गरेको थियो ।

उनलाई उच्च अदालतले बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना ठहर गरेको हो । उच्चले जिल्ला अदालतको फैसला सदर गरेको हो । जिल्ला अदालत काठमाडौँले २०७९ चैत २३ गते उनलाई दोषी ठहर गरेको थियो ।

पहिलो श्रीमती करिष्मा खरेल शेर्पाले कुटपिट, अंशसहित बहुविवाहमा मुद्दा दायर गरेकी थिइन् । खरेलले पासाङसहित कान्छी श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडौँमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा जिल्ला अदालतले बहुविवाह भएको ठहर गरेको थियो । जिल्लाले पासाङ शेर्पा र करिश्मा खरेलसँग २०६१ असारमा र पुजासँग २०६३ मा विवाह गरेको ठहर गरेको थियो ।

जिल्ला अदालत काठमाडौँले शेर्पाले पहिलो श्रीमतीसँग सम्बन्ध कायमै भएको अवस्थामा दोस्रो विवाह गरेको ठहर गरेको थियो । शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि त्यसलाई सदर गरेको थियो ।

यता, उनको मुद्दाबारे एमालेको सचिवालय बैठकमा पनि कुरा उठेको थियो । गुन्डुमा गत शनिबार सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सचिव योगेश भट्टराईले पासाङ शेर्पालाई निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

भट्टराईले बहुविवाहको मुद्दामा दोषी ठहर भएका शेर्पालाई पार्टी केन्द्रीय सदस्य र जनजाति महासंघको अध्यक्षबाट निलम्बन गर्नुपर्ने प्रस्ताव राखेका थिए । ‘अदालतबाटै दोषी ठहर व्यक्तिलाई पार्टीले भूमिकामा राखिरहँदा गलत सन्देश जान्छ, यसबारे निर्णय गरौ,’ उनको प्रस्ताव थियो ।

तर भट्टराईको प्रस्तावलाई ओलीले अस्वीकार गर्ने संकेत गर्दै मुद्दा लाग्दैमा निर्णय गरिहाल्न नमिल्ने तर्क गरेका थिए । ‘मुद्दा मलाई पनि लागेको छ, मुद्दा लाग्नु सामान्य कुरा हो,’ ओलीले हलुका ढंगले भनेका स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply