एपीएफ स्कुल भ्रष्टाचार प्रकरण : दुई अभियुक्तलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति
rastriyakhabar
११ श्रावण २०८३, सोमबार ०५:२५
काठमाडौं। सशस्त्र प्रहरी बल (एपीएफ) स्कुल, कीर्तिपुरको भ्रष्टाचार प्रकरणमा मुछिएका दुई अभियुक्तलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले लेखा अधिकृत कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लीलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिम अनुसन्धान गरिरहेको छ। गत असार २० गते जिल्ला प्रहरी परिसरले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
यसअघि पनि अदालतबाट पटक–पटक म्याद थप हुँदै आएकोमा पछिल्लो आदेशसँगै उनीहरूको हिरासत अवधि पाँचौँ पटक थपिएको हो।
प्रहरी र सरकारी वकिल कार्यालयको समन्वयमा साउन ८ गते दुवै आरोपीलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको थियो। हाल आयोगले घटनासँग सम्बन्धित प्रमाण संकलन तथा विस्तृत अनुसन्धानलाई तीव्र बनाएको जनाएको छ।
प्रतिक्रिया