पार्टीमा कोतपर्वजस्तो अनुशासन पर्व चलाउनु गलत : गगन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८२, मंगलवार ०५:५२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र हालै नेताहरूलाई गरिएको अनुशासन कारबाही विधानसम्मत र समय सान्दर्भिक नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले यसबारे सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताए ।

कांग्रेस अहिले चौतर्फी घेराबन्दीमा परेको अवस्थामा अनुशासनका नाममा ‘कोतपर्वजस्तो घटना’ चलाउनु गलत भएको उनको भनाइ छ ।

महामन्त्री थापाले भने, “यो बीचमा एउटा नमिठो घटना पार्टीभित्र भयो । माननीय सभापतिज्यूसँग म अहिले पनि प्रयास गरिरहेकै छु । पार्टीलाई भित्रभित्रै वृहत् एकताबद्ध बनाउनुपर्छ । आवश्यक पनि छ । किनभने हामी चौतर्फी घेराबन्दीमा छौँ । यो बेलामा पार्टीभित्र जसरी एउटा कोतपर्व जस्तै अनुशासन पर्व चल्यो, न यो समयको हिसाबले ठिक हो, न यो पार्टीको परम्पराको हिसाबले ठिक हो, न पार्टीको कानुन, विधानको हिसाबले ठिक हो ।”

उनले यस किसिमका कारबाहीहरूले पार्टीलाई थप कमजोर बनाउने बताए । “अनुशासनहीनलाई कारबाही गर्नु आवश्यक छ, तर जसरी पार्टीभित्रका विषयहरू डिल गरियो, समाधान खोजियो, त्यसले हाम्रो भित्र भएका प्रयासलाई कमजोर बनाउने काम गर्‍यो,” उनले भने ।

महामन्त्री थापाले कांग्रेसको संगठन चलायमान बनाउन ध्यान दिन जरुरी रहेको उल्लेख गरे ।

प्रतिक्रिया