काठमाडौं । निजामती सेवामा प्रवेश गर्न चाहनेहरुका लागि परराष्ट्र सेवा आकर्षक क्षेत्र हो । मन्त्रालय, विभिन्न मुलुकमा रहेका नेपाली राजदूतावास र नियोगहरुमा रहेर नेपालको कूटनीतिको नेतृत्व गर्ने यस क्षेत्रमा प्रवेश गर्न चाहनेहरुको संख्या उल्लेख्य छ । तर, अवसर कमैलाई छ ।
परराष्ट्र सेवामा पछिल्ला दिनमा महिलाहरुको आकर्षण बढ्दो छ । २०६४ को अन्तरिम संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाले महिलाहरुलाई यस क्षेत्रमा बढी आकर्षित गरेको हो ।
‘समावेशी र खुल्ला दुवै तर्फबाट परराष्ट्र सेवामा महिलाहरु आउने संख्या बढ्दो छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सह–सचिव भरतराज पौड्यालले नागरिक खबरसँग भने, ‘यो क्षेत्रमा अझै धेरै महिलाहरु आउन आवश्यक छ ।’
परराष्ट्र सेवामा नायव सुब्बादेखि सह–सचिवसम्म गरी करिब ५५ जना महिला कर्मचारी कार्यरत छन् । सबैभन्दा तल्लो तह नायव सुब्बामा २५ जना महिला कर्मचारी छँदा सबैभन्दा माथिल्लो तह सह–सचिवमा एकजना मात्रै महिला छिन् ।
परराष्ट्र सेवामा ४ जना उपसचिव र २५ जना अधिकृत महिला छन् । अधिकृतमध्ये तीनजना उपसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । उनीहरुको बढुवा परिपक्व भएपछि परराष्ट्रमा उपसचिवमा ७ र अधिकृतमा २२ जना महिला हुनेछन् ।
परराष्ट्र सेवामा महिलाबाट सबैभन्दा उच्च तहमा पुग्ने सह–सचिव सेवा लम्साल हुन् । उनी पाकिस्तानका लागि नेपाली राजदूत छिन् ।
विभिन्न मुलुकका लागि नेपाली राजदूतहरुमा चारजना महिला भएपनि परराष्ट्र सेवाबाट लम्साल एक्ली हुन् । अन्य तीन महिला राजनीतिक नियुक्तिबाट राजदूत भएका हुन् ।
जापानका लागि प्रतिभा राणा, ओमनका लागि शर्मिला पराजुली ढकाल र अञ्जान शाक्य ईजरायलका लागि नेपाली राजदूत छिन् ।
यी हुन् सुब्बादेखि सह–सचिवसम्मका महिला
एक्ली राजदूत सेवा लम्साल
परराष्ट्र मन्त्रालयकी सह–सचिव सेवा लम्साल परराष्ट्र सेवामा महिलाबाट सबैभन्दा उच्च तहमा रहेकी अधिकारी हुन् । उनी पाकिस्तानका लागि नेपाली राजदूत छिन् । लम्साल परराष्ट्र सेवाबाट राजदूत बनेका एक्ली महिला हुन् ।

खुल्ला प्रतिस्पर्धामार्फत उपसचिवबाटै परराष्ट्र सेवा प्रवेश गरेकी लम्साल यसअघि अमेरिकाको न्यूयोर्कमा रहेर संयुक्त राष्ट्र संघीय नियोगमा ‘डेपुटी’ स्थायी प्रतिनिधि भएर काम गरिसकेकी छिन् । उनी सहसचिवमा समेत खुल्ला प्रतिस्पर्धाबाट आएकी हुन् ।
लम्साल परराष्ट्र मन्त्रालयका वरिष्ठ सह–सचिव हुन् । वरिष्ठतामा सह–सचिव भरतराज पौड्यालपछि उनी छिन् । केहीं वर्षपछि परराष्ट्र सचिवको जिम्मेवारी सम्हाल्ने लाइनमा भएकी उनी कुशल कुटनीतिज्ञ मानिन्छिन् ।
दक्षिण एशिया महाशाखामा उपसचिव रिता धिताल

रिता धिताल परराष्ट्र मन्त्रालयकी उपसचिव हुन् । उनी दक्षिण एशिया महाशामा कार्यरत छिन् । उनले यसअघि दक्षिण एशियाली सहयोग संगठन (सार्क) निर्देशक भएर काम गरिसकेकी छिन् । रिता निजामती सेवामा समावेशीता लागू हुनु अगावै परराष्ट्र सेवा प्रवेश गरेकी अधिकारी हुन् ।
अष्ट्रेलियाको दूतावासको नेतृत्व सम्हाल्दै दुरपदा सापकोटा
दुरपदा सापकोटा यतिबेला अष्ट्रेलियामा रहेको नेपाली राजदूतावसमा कार्यरत छिन् । उनी त्यहाँ डेपुटी चीफ अफ मिसन (डीसीएम) छिन् । सरकारले लक्की शेर्पालाई राजदूतबाट फिर्ता बोलाएपछि दुरपदा कार्यवाहक राजदूतको रुपमा त्यहाँको कुटनीतिको नेतृत्व गरिरहेकी छिन् ।

दुरपदा यसअघि राष्ट्रपतिको कार्यालयमा थिइन् । उनी २०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी अधिकारी हुन् । निजामती सेवामा समावेशीता लागू भएपछि परराष्ट्र सेवामा २०६७ मा धेरैजना प्रवेश गरेका थिए ।
कोरियापछि यूएन महाशाखामा प्रथमा उप्रेती
प्रथमा उप्रेती २०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी हुन् । उपसचिव प्रथमा परराष्ट्र मन्त्रालयको यूएन मशाहाखामा कार्यरत छिन् । परराष्ट्रका उपसचिव दुरपदा सापकोटा, प्रथमा उप्रेती र रोशन खनाल अधिकृत भएको छोटो अवधिमै उपसचिवमा बढुवा हुने भाग्यशाली अधिकारी मानिन्छन् ।

प्रथमाले यसअघि दक्षिण कोरियास्थित नेपाली राजदूतावासमा द्वितीय सचिवको जिम्मेवारी पूरा गरिसकेकी छिन् ।
उपसचिव रोशन खनाल
रोशन खनाल परराष्ट्र मन्त्रालयकी उपसचिव हुन् । परराष्ट्र सेवाका चार उपसचिवमध्येकी उनी मन्त्रालयको उत्तर पूर्वी एशिया महाशाखामा कार्यरत छिन् । उनको स्थायी घर कपिलवस्तु हो ।

रोशन २०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनी यसअघि ईजलरायलमा द्वितीय अधिकृतको रुपमा कार्यरत थिइन् ।
उपसचिवको नियुक्ति बुझ्दै डेन्टिस्ट ईला मैनाली
ईला मैनाली पाटन अस्पतालमा सिनियर डेन्टिस्ट थिइन् । उनले २०६७ मा परराष्ट्र सेवा प्रवेशका लागि कोशिस गरिन् । सफल भएपछि शाखा अधिकृतको रुपमा परराष्ट्र सेवा सुरु गरिन् ।

परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखामा कार्यरत ईला परराष्ट्र सेवाको उपसचिवमा बढुवाका लागि सिफारिस भएकी छिन् । नियुक्तिका लागि ३५ दिन पुग्नुपर्ने प्रावधान बमोजिम सो अवधि पुगिसके पनि बिदा भएका कारण उनले उपसचिवको नियुक्ति लिएकी छैनन् ।
ईला यसअघि संयुक्त राष्ट्र संघीय नियोग, न्यूयोर्कमा कार्यरत थिइन् । उनी लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीकी छोरी हुन् ।
उपसचिवको नियुक्तिको प्रतिक्षामा प्रमिता अधिकारी
प्रमिता अधिकारीको परराष्ट्र सेवा उपसचिवमा बढुवा सिफारिस भएको केहीं दिनमा ३५ दिन पुग्दैछ । उनी उपसचिवमा नियुक्तिको प्रतिक्षामा छिन् । उनी आफ्ना एक सहकर्मीसहित एक महिनाअघि परराष्ट्र सेवाको उपसचिवमा बढुवा सिफारिस परेकी छिन् ।

२०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेकी प्रमिता परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन शाखामा कार्यरत छिन् । उनी यसअघि अष्ट्रेलियामा कार्यरत थिइन् ।
रुसको कार्यवाहक राजदूत बनेकी इन्दिरा अर्याल
ईन्दिरा अर्याल शाखा अधिकृत थिइन् । उनको सरुवा रुसको राजधानी मस्कोस्थित नेपाली राजदूतावासमा भयो । उनी त्यहाँ पुगेको केहीं वर्षपछि राजदूतको पद खाली भयो । त्यसपछि केहीं महिना उनी नै कार्यवाहक राजदूत बनिन् । उनी कार्यवाहक राजदूत हुँदा तत्कालीन सभामुख ओनसरी घर्तीमगरको रुस भ्रमण समेत भयो ।

२०६७ मा शाखा अधिकृतबाट परराष्ट्र सेवा प्रवेश गरेकी अर्याल उपसचिवमा बढुवा सिफारिस भएको एक महिना पुगिसकेको छ । परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखामा रहेकी अर्याल केहीं दिनभित्रै उपसचिवको जिम्मेवारी सम्हाल्दै छिन् ।
यी हुन् परराष्ट्रका २२ महिला अधिकृत
परराष्ट्र मन्त्रालयका प्रवक्ता पौड्यालका अनुसार, परराष्ट्र सेवामा अहिले २५ जना अधिकृत महिला छन् । तीमध्ये तीनजना उपसचिव बढुवामा सिफारिस भइसकेका छन् । अब २२ जना अधिकृत महिला रहने छन् । उनीहरु २०६७, २०६८ र २०६९ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् ।
शाखा अधिकृत भएर २०६७ मा एकसाथ १४ जना महिला परराष्ट्र सेवामा प्रवेश गरेका थिए । यो परराष्ट्र सेवामा एकसाथ धेरै महिला प्रवेश गरेको वर्ष हो ।
२०६७ मा सेवा प्रवेश गरेका शाखा अधिकृतहरुमा शिवानी बस्नेत आवुधावीस्थित नेपाली राजदूतावास, सविता नकर्मी परराष्ट्र मन्त्रालयको योजना महाशाखा, ललिता सिलवाल मन्त्रालयको दक्षिण एशिया महाशाखा, मुदिता बज्राचार्य न्यूयोर्कमा, रसिता बस्नेत मन्त्रालयकै क्षेत्रीय संगठन महाशाखामा कार्यरत छन् ।
यसैगरी सोही वर्ष सेवा प्रवेश गरेका अधिकृत रञ्जिता दाहाल मन्त्रालयको दक्षिण एशिया महाशाखा, सावित्रा वली उत्तर दक्षिण एशिया महाशाखा र सिर्जना अधिकारी यूएन महाशाखामा कार्यरत छन् ।
२०६८ मा सेवा प्रवेश गरेकी शाखा अधिकृत धना जोशी कन्सुलर विभागमा कार्यरत छिन् । उनी आफ्नो व्याचमा अधिकृत बन्ने एक्ली महिला हुन् ।
यसैगरी २०६९ र त्यसपछि थुप्रै जना महिलाहरु अधिकृतमार्फत परराष्ट्र सेवा प्रवेश गरेका छन् । परराष्ट्र सेवामा रहेका अधिकृतहरु आस्था सुब्बा ईजरायल, सुजनी राना हङकङ, रोजिना ताम्राकार ओमान, अन्तरा सिंह जेनेभा, विष्णु कुमारी अधिकारी आबुधावी, प्रतीज्ञा राई थाईल्याण्ड, रिचा भट्टराई दोहामा कार्यरत छन् ।
यसैगरी अधिकृतहरु यशु बस्नेत राहदानी विभाग, तारा गौतम साउदी अरबिया, अरुणा घिसिङ मन्त्रालयको यूरोप अमेरिका महाशाखा, जानकी ओझा कुवेत, सुति कडेरिया (चीन जाँदै छिन्) र चन्दिका पोखरेल कन्सुलर विभागमा कार्यरत छन् ।
परराष्ट्र सेवामा प्रवेश गरेका २५ जना नायव सुब्बामध्ये कन्सुलर, पासपोर्ट विभाग र विभिन्न दुतावासमा कार्यरत रहेको प्रवक्ता पौड्यालले बताए ।
विन्दा शाह परराष्ट्रमा प्रवेश गर्ने पहिलो महिला
परराष्ट्र सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला विन्दा शाह हुन् । उनी राजदूत बन्ने पहिलो महिला हुन् । उनी सन् १९८८ मा भारतका लागिका लागि नेपाली राजदूत बनेकी थिइन् ।
प्रवक्ता भन्छन्, महिला कर्मचारीको कार्यसम्पदान गुणस्तरीय छ
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले कुटनीतिक जिम्मेवारी सम्हालेका महिलाहरुको कार्य सम्पदान उत्कृष्ट रहेको बताए । ‘गत १० वर्षयता र त्योभन्दा पनि अलि अघिदेखि महिला कर्मचारीको परराष्ट्र सेवामा आशालाग्दो प्रवेश छ । उहाँहरु समावेशी र खुल्ला दुवै समूहबाट आउनुभएको छ,’ प्रवक्ता पौड्यालले भने, ‘जुनसुकै माध्यमबाट आएपनि समग्र महिला कर्मचारीहरुको ‘परफरमेन्स’ राम्रो र गुणस्तर छ ।’

उनले योग्य महिला उम्मेदवारहरु परराष्ट्र सेवामा आउनुपर्ने बताए । ‘महिलाहरु धेरैभन्दा धेरै परराष्ट्र सेवामा आउनुपर्छ । म योग्य व्यक्तिहरुले लोक सेवा आयोगको प्रतिस्पर्धाबाट परराष्ट्र सेवामा आउन म प्रोत्साहन गर्दछु ।’
आरक्षणले बढ्यो महिला कर्मचारीको संख्या
२०६४ को संविधानले समावेशी व्यवस्था नगर्दासम्म परराष्ट्र सेवामा पनि महिला कर्मचारीहरुको संख्या न्यून थियो । अन्तरिम संविधानको आधारमा निजामति सेवा (दोस्रो संशोधन) ऐन–२०६४ पारित गर्दा सरकारले निजामती सेवालाई समावेशी तुल्याउने निर्णय गरेको थियो ।
सो ऐनको दफा(७)मा निजामती सेवालाई समावेशी बनाउन खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत स्थान आरक्षित गरेपछि निजामतीमा महिलाको संख्या बढ्दै आएको छ ।
परराष्ट्र सेवामा २० प्रतिशत महिला कर्मचारी
परराष्ट्र सेवामा कार्यरत कर्मचारीमध्ये महिलाहरुको संख्या करिब २० प्रतिशत पुगेको छ । परराष्ट्र सेवामा करिब २७१ जनामध्ये ८० प्रतिशत पुरुषछन् । विवरणअनुसार परराष्ट्रमा कार्यरत करिब २७५ मध्ये २१७ पुरुष र ५५ जना महिला कर्मचारी छन् । ‘परराष्ट्र सेवामा विभिन्न पदमा ५५ जना महिला कर्मचारी हुनुहुन्छ । यो अत्यन्त राम्रो हो,’ प्रवक्ता पौड्यालले भने, ‘यो संख्या अझै बढ्नुपर्छ ।’
अन्य सेवाभन्दा परराष्ट्र सेवामा महिलाको संख्या बढी भएको देखिएको छ । नागरिक खबर बाट
प्रतिक्रिया