काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे टिप्पणी गर्दै देखाउन र कुरा गर्न सजिलो भए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन हुने बताएका छन्।
राजधानीमा सञ्चारकर्मी तथा सम्पादकहरूसँगको छलफलमा ओलीले प्रधानमन्त्री शाहले आफ्नो मेयर कार्यकालमा टाँसेको ‘ग्रेटर नेपाल’को नक्सा देखाउँदै भारतसँग किन कुरा नगरेको भन्दै प्रश्न गरेका हुन्।
प्रधानमन्त्री औपचारिक विदेश भ्रमणमा जाँदा राजनीतिक दल, विज्ञ र सरोकारवालासँग छलफल तथा परामर्श गरेर राष्ट्रिय मुद्दा उठाउन सकिने भए पनि शाहले त्यसो गर्न नचाहेको ओलीको टिप्पणी थियो।
छलफलका क्रममा ओलीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान, न्यायपालिका, निर्वाचन र राष्ट्रिय हितका विषयमा पनि धारणा राखेका थिए। राज्य संयन्त्रबाट आवश्यक सहयोग नपाए प्रधानमन्त्री एक्लैले सबै काम गर्न नसक्ने उनको भनाइ थियो।
भदौ २३ र २४ गतेका घटनापछिका राजनीतिक घटनाक्रम तथा सत्ता परिवर्तनबारे चर्चा गर्दै ओलीले सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको प्रक्रिया र प्रतिनिधिसभा विघटनको संवैधानिक आधारमाथि प्रश्न उठाए। आफ्नो सिफारिसमा भएको संसद् विघटन र पछिल्लो विघटनलाई फरक ढङ्गले हेरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। अदालतमा विचाराधीन मुद्दा र संवैधानिक प्रक्रियाबारे पनि उनले धारणा राखेका थिए।
निर्वाचन खर्च घटाउनुपर्नेमा जोड दिँदै ओलीले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्ने बताए। संघ र प्रदेशको निर्वाचन एकैपटक गर्दा खर्च कम हुने उनको धारणा थियो।
परराष्ट्र सम्बन्ध र राष्ट्रिय हितका विषयमा ओलीले नेपाल–भारत सम्बन्ध, सन् १९५० को सन्धि, प्रबुद्ध व्यक्ति समूह (ईपीजी), स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र नेपालको चुच्चे नक्साबारे आफ्नो धारणा राखे।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उठाउनुपर्ने राष्ट्रिय मुद्दा तथा भैरहवा विमानस्थलबाट हवाई उडान सञ्चालनका विषयमा पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए।
समसामयिक राजनीति, संवैधानिक व्यवस्था, निर्वाचन र राष्ट्रिय हितका विविध विषयमा केन्द्रित छलफलमा ओलीले सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफसमेत दिएका थिए।
प्रतिक्रिया