गण्डकी। पर्यटकीय नगरी पोखराको मौसम खुलेसँगै हिमशृङ्खला, तालतलैया र हरियाली डाँडापाखाको दृश्य अवलोकन गर्दै प्याराग्लाइडिङ गर्ने पर्यटकको आकर्षण बढेको छ। अहिले दैनिक दुई सयभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटकले पोखराको आकाशमा प्याराग्लाइडिङको साहसिक अनुभव लिइरहेका छन्।
नेपाल हवाई खेलकुद संस्थाका अनुसार दसैं–तिहारको बिदाका समयमा प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या दैनिक चार सयसम्म पुगेको थियो। संस्थाका अध्यक्ष माधव तिवारीका अनुसार प्याराग्लाइडिङ गर्ने पर्यटकमध्ये करिब ६० प्रतिशत विदेशी र ४० प्रतिशत नेपाली छन्।
“वर्षा भइरहेको र मौसम बिग्रिएको दिनबाहेक वर्षमा करिब तीन सय दिन पोखरामा नियमित प्याराग्लाइडिङ उडान हुने गर्छ,” तिवारीले भने, “पछिल्लो समय नेपाली युवा तथा आन्तरिक पर्यटकमा पनि यसको आकर्षण बढिरहेको छ।”
उनका अनुसार पोखरा भ्रमणमा आउने कुल पर्यटकमध्ये करिब २० प्रतिशतले प्याराग्लाइडिङ गर्ने गरेका छन्। हाल नेपाल हवाई खेलकुद संस्थामा आबद्ध ५४ कम्पनीले व्यावसायिक उडान सञ्चालन गरिरहेका छन्। ती कम्पनीमा २३० जना दक्ष तथा तालिमप्राप्त पाइलट कार्यरत छन्। उडानमा सहभागी पाइलट र यात्रुको अनिवार्य बीमा गर्ने व्यवस्था रहेको तिवारीले बताए।
सम्भावित दुर्घटना न्यूनीकरणका लागि सुरक्षाका मापदण्ड कडाइका साथ पालना गरिने तथा व्यवसायको नियमित अनुगमन र सञ्चालन अनुमतिपत्र नवीकरणको काम पनि संस्थामार्फत हुने गरेको उनले जानकारी दिए।
पोखरा महानगरपालिका–१८ स्थित सराङकोट र तोरीपानीबाट उडान भरेर फेवाताल किनारको खपौदी फाँटमा अवतरण गर्ने गरिन्छ। समुद्री सतहबाट करिब एक हजार ६५० मिटर उचाइबाट उडान हुने फिस्टेल नेपाल प्याराग्लाइडिङ कम्पनीका प्रशिक्षक तथा पाइलट एलिस थापाले बताए। उनका अनुसार अनुभवी पाइलटले सुरक्षाका सबै मापदण्ड पालना गरेर मात्र उडान सञ्चालन गर्छन्।
तर, विदेशी पर्यटकलाई थप आकर्षित गर्न पोखरामा प्याराग्लाइडिङको उडान क्षेत्र (एयर स्पेस) विस्तार गर्नुपर्ने आवश्यकता रहेको थापाले औँल्याए। “उडानका लागि एयर स्पेस कम हुँदा एकल उडानका लागि आउने विदेशी पर्यटकलाई सोचेजति भित्र्याउन सकिएको छैन,” उनले भने, “नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर स्पेस बढाउने निर्णय गरे अझ धेरै विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ।”
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हवाई सुरक्षालाई ध्यानमा राख्दै प्याराग्लाइडिङ उडान केही समय बन्द गरिएको थियो। पछि सरोकारवालाको पहलमा निश्चित स्थान र उचाइ तोकेर प्राधिकरणले पुनः सञ्चालन अनुमति दिएको थियो।
थापाका अनुसार विगतको तुलनामा पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कम हुँदा प्रतियोगितामा सहभागी हुन आउने विदेशी पर्यटकको सङ्ख्या पनि घटेको छ। पोखराको सम्भावनालाई उपयोग गर्न व्यवसायीलाई प्रोत्साहन गर्ने स्पष्ट नीति र योजना आवश्यक रहेको उनको भनाइ छ।
हाल पोखरामा प्रतिव्यक्ति आठ हजार पाँच सय रुपैयाँ तिरेर प्याराग्लाइडिङ गर्न सकिन्छ। सिजन र अवस्थाअनुसार शुल्कमा केही घटबढ हुन सक्ने व्यवसायी बताउँछन्। पर्यटकले आकाशमा १५ देखि ३० मिनेटसम्म उडेर मनोरञ्जन लिन पाउँछन्। पोखरामा करिब तीन दशकअघि व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको हो।
दक्ष पाइलट उत्पादनका लागि पोखरामै तालिम सञ्चालन हुँदै आएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानमा केही दिनअघि नयाँ प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको छ। स्वदेशमै अन्तर्राष्ट्रियस्तरका दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले एरोडाइनामिक प्याराग्लाइडिङ प्रालिले गाउँपालिकासँगको सहकार्यमा केन्द्र सञ्चालन गरेको हो।
पोखरामा प्याराग्लाइडिङसँगै बञ्जी जम्प, स्काइडाइभिङ, अल्ट्रालाइट, हट एयर बेलुन र जिपलाइनजस्ता साहसिक पर्यटन गतिविधि पनि सञ्चालनमा छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले प्रकृति, संस्कृति र साहस पोखराको पर्यटनका प्रमुख आधार भएको बताए। साहसिक पर्यटनमा थप विदेशी पर्यटक आकर्षित गर्न सके समग्र पोखराको पर्यटन क्षेत्र र स्थानीय अर्थतन्त्रले लाभ लिन सक्ने उनको भनाइ छ।
प्रतिक्रिया