काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ।
लामिछानेको बुढानीलकण्ठस्थित निवासमा दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म भएको भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको लामिछानेको सचिवालयले जनाएको छ।
लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारत भ्रमण, त्यहाँ भएका संवाद र प्राप्त उपलब्धिबारे लामिछानेलाई जानकारी गराएका थिए। प्रधानमन्त्री शाह मंसिर ६ गते भारत भ्रमणमा गएर भोलिपल्ट साँझ स्वदेश फर्किएका थिए।
भेटमा आगामी निर्वाचनको तयारी र रणनीतिबारे पनि विस्तृत छलफल भएको थियो। समसामयिक राजनीतिक अवस्था, रास्वपाले सुरु गर्न लागेको पार्टी प्रशिक्षण अभियान तथा संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा दुवै नेताबीच विचारविमर्श भएको सचिवालयले जनाएको छ।
त्यसैगरी, मन्त्रीहरू, विभिन्न मन्त्रालय र सरकारका समग्र कामकारबाहीको समीक्षा गरिएको थियो। अध्यादेश, विधेयक र आगामी संसद् अधिवेशन आह्वानका विषयमा समेत प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच महत्वपूर्ण छलफल भएको जनाइएको छ।
प्रतिक्रिया