काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यविरुद्ध करिब १० करोड रुपैयाँ गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले आचार्यविरुद्ध ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ ८३ पैसा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा बिगो कायम गरी कैद, जरिवाना र सम्पत्ति जफतको मागदाबी गरेको छ। त्यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरिएको छ।
आयोगका अनुसार आचार्य २०५४ माघ २ गते जिल्ला विकास समिति खोटाङमा गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए। २०८० मंसिर २१ गतेसम्मको अवधिमा उनको तथा परिवारका सदस्यको वैधानिक आम्दानी ६ करोड २५ लाख ६३ हजार रुपैयाँ देखिएको थियो। तर सोही अवधिमा घरजग्गा खरिद, कम्पनीमा लगानी, ऋण सापटी, सवारीसाधन, सेयर खरिद तथा अन्य खर्चमा १५ करोड ९८ लाख ३५ हजार रुपैयाँभन्दा बढी खर्च तथा लगानी गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
घरजग्गा र कम्पनीमा करोडौंको लगानी
अनुसन्धानका क्रममा आचार्यले स्रोत नखुलेको रकम विभिन्न घरजग्गा कारोबार, बैंक खाता, कम्पनी तथा सेयर बजारमार्फत परिचालन गरेको पाइएको आयोगको आरोप छ।
काठमाडौं महानगरपालिका–१० स्थित घरजग्गा श्रीमती ललिता राजभण्डारीको नाममा खरिद गरिएको र त्यसका लागि विभिन्न बैंक खाताबाट करोडौं रुपैयाँ भुक्तानी भएको आयोगले जनाएको छ।
त्यस्तै, काठमाडौं महानगरपालिका–३२ मा जग्गा खरिद गर्दा १ करोड १५ लाख रुपैयाँ भुक्तानी भएकोमा मालपोतको लिखतमा ४४ लाख ५ हजार रुपैयाँ मात्रै मूल्य उल्लेख गरिएको पाइएको छ। बाँकी ७० लाख ९५ हजार रुपैयाँ बढी भुक्तानी भएको आयोगको दाबी छ।
आचार्यले भक्तपुरस्थित हलेसी डिपार्टमेन्ट स्टोर प्रालिमा समेत ४५ लाख रुपैयाँ लगानी गरेको अनुसन्धानमा खुलेको छ। उक्त कम्पनीसँग सम्बन्धित कारोबारमा उनकी श्रीमतीलाई व्यवस्थापक नियुक्त गरिएको विवरणसमेत आरोपपत्रमा उल्लेख छ।
जग्गा व्यवसायी र विभिन्न व्यक्तिमार्फत रकम परिचालन
आयोगका अनुसार आचार्यले जग्गा व्यवसायी भीमबहादुर राई तथा दिनेश राईलगायत व्यक्तिमार्फत २ करोड ५१ लाख ५६ हजार ५०० रुपैयाँ लगानी गरेका थिए। गोठाटारका विभिन्न कित्ताका जग्गा खरिद तथा बैना कारोबारमा पनि विभिन्न व्यक्तिका बैंक खातामार्फत रकम परिचालन भएको पाइएको छ।
त्यस्तै, तुलसीप्रसाद पोखरेललाई ऋण सापटी दिएको देखाएर रकम परिचालन गरिएको तथा विभिन्न व्यक्तिमार्फत बैंक खातामा रकम जम्मा गरिएको आयोगको अनुसन्धानमा उल्लेख छ।
मोरङको टंकिसिनवारी र विराटनगरमा भएका जग्गा कारोबारसमेत अनुसन्धानको दायरामा परेका छन्। केही जग्गा श्रीमतीको नाममा दर्ता गरिएको र खरिदका लागि देखाइएको ऋणको वास्तविक स्रोत पुष्टि नभएको आयोगको दाबी छ।
श्रीमतीसहित परिवारका सदस्य पनि प्रतिवादी
सम्पत्ति शुद्धीकरणतर्फ आचार्यले विभिन्न व्यक्ति, बैंक खाता, घरजग्गा कारोबार र कम्पनीमार्फत रकम परिचालन गरी वैध सम्पत्तिका रूपमा देखाउने प्रयास गरेको आयोगको ठहर छ।
आयोगका अनुसार ८ करोड २६ लाख २० हजार रुपैयाँभन्दा बढी आपराधिक गतिविधिबाट प्राप्त रकम परिचालन गरी ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँभन्दा बढीको सम्पत्ति शुद्धीकरण गरेको अभियोग लगाइएको छ।
यस प्रकरणमा आचार्यकी श्रीमती ललिता राजभण्डारीलाई समेत प्रतिवादी बनाइएको छ। त्यस्तै, हलेसी डिपार्टमेन्ट स्टोरसँग सम्बन्धित कारोबारमा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ। आचार्यका छोरीहरू निलु आचार्य र सरु आचार्यलाई भने गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी कायम गरिएको आयोगले जनाएको छ।
सम्पत्ति शुद्धीकरणतर्फ आचार्य र उनकी श्रीमतीविरुद्ध जनही ९ करोड १९ लाख ८४ हजार ५७६ रुपैयाँ १९ पैसा बिगो कायम गरी कैद, जरिवाना तथा सम्पत्ति जफतको मागदाबी गरिएको छ। राष्ट्रसेवक कर्मचारी भएकाले आचार्यलाई थप १० प्रतिशत सजाय गर्नसमेत आयोगले माग गरेको छ।
प्रतिक्रिया