काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समितिको तर्फबाट महिला केन्द्रीय सदस्य पदका लागि रबिना थापाले उम्मेदवारी मनोनयन दर्ता गरेकी छन्। लामो समयदेखि गैरआवासीय नेपाली अभियान तथा सामाजिक सेवामा सक्रिय थापाले आफ्नो अनुभवलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमार्फत देश र प्रवासी नेपालीको हितमा उपयोग गर्ने प्रतिबद्धता जनाएकी छन्।
उम्मेदवारी दर्तापछि शुभेच्छुक तथा समर्थकहरूलाई सम्बोधन गर्दै थापाले आफ्नो राजनीतिक तथा सामाजिक यात्राको महत्वपूर्ण चरणका रूपमा १५औँ महाधिवेशनलाई लिएको बताएकी छन्। परिवार, अग्रज नेतृत्व, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको आशीर्वाद र साथ लिएर नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने संकल्पका साथ आफू अघि बढेको उनको भनाइ छ।
थापाले गैरआवासीय नेपाली अभियानमा लामो समय काम गर्ने क्रममा विदेशमा रहेका नेपालीहरूको समस्या, भावना, आवश्यकता र अपेक्षालाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेको बताएकी छन्। अब त्यही अनुभवलाई नेपाली कांग्रेसको केन्द्रीय तहमा पुर्याउँदै प्रवासी नेपालीका सवाललाई प्रभावकारी रूपमा उठाउने उनको प्रतिबद्धता छ।
उनले गैरआवासीय नेपालीहरूको हकहित संरक्षण, नागरिकताको निरन्तरता, नेपालमा प्रवासी नेपालीको लगानी भित्र्याउने वातावरण निर्माण, विदेशमा आर्जन भएको ज्ञान, सीप र प्रविधिको मातृभूमिको विकासमा सदुपयोग तथा महिला र युवा नेतृत्वको सशक्तीकरणलाई प्राथमिकतामा राख्ने बताएकी छन्।
थापाको प्रतिबद्धतामा मातृभूमि र प्रवासी नेपालीबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषय पनि प्रमुख रूपमा समेटिएको छ। विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक, सामाजिक तथा राजनीतिक विकाससँग जोड्दै उनीहरूको अनुभव, क्षमता र स्रोतलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने उनको धारणा छ।
थापाले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि प्रवासी नेपालीको आवाजलाई नेपाली कांग्रेसको केन्द्रीय तहसम्म पुर्याउने अवसरका रूपमा लिएको बताएकी छन्।
उनले भनिन्, “विदेशमा बस्ने नेपालीहरूका समस्या, भावना, आवश्यकता र अपेक्षालाई मैले नजिकबाट बुझेकी छु। अब ती अनुभवलाई पार्टीको केन्द्रीय तहसम्म पुर्याउँदै गैरआवासीय नेपालीहरूको हकहित, नागरिकताको निरन्तरता, लगानी, ज्ञान–सीपको सदुपयोग तथा महिला र युवा नेतृत्वका विषयमा दृढतापूर्वक आवाज उठाउने मेरो प्रतिबद्धता छ।”
आफ्नो उम्मेदवारीलाई सफल बनाउन सबैको साथ, सहयोग, विश्वास र अमूल्य मतको अपेक्षा गर्दै थापाले विश्वासलाई आफ्नो शक्ति र सेवा तथा समर्पणलाई आफ्नो प्रतिबद्धता भएको बताएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै महिला केन्द्रीय सदस्य पदमा थापाको उम्मेदवारीले प्रवासी नेपालीका सवाललाई पार्टीको केन्द्रीय नेतृत्वमा थप प्रभावकारी रूपमा उठाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया