काठमाडौं। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पहिचान नभएका ६५ शव नुवाकोटको विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्पमा व्यवस्थापन गरिएको छ।
रसुवाका विभिन्न स्थानबाट संकलन गरिएका ६३ र नुवाकोटबाट संकलन गरिएका दुई गरी ६५ शवको व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
यसअघि नुवाकोट र रसुवाबाट संकलन भएका पहिचान नभएका शव काठमाडौं पठाउँदै आएकोमा स्थान अभाव भएपछि सम्बन्धित जिल्लामै व्यवस्थापन गर्न निर्देशन दिइएको थियो। सोहीअनुसार ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए।
डीएनए नमुना संकलन गरी वैज्ञानिक व्यवस्थापन
प्रहरीका अनुसार व्यवस्थापन गरिएका प्रत्येक शवको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ। भविष्यमा डीएनए परीक्षणबाट पहिचान खुलेमा सम्बन्धित आफन्तलाई शव उपलब्ध गराउन सहज हुने गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।
“खाडलमा राख्नुअघि प्रत्येक शवको डीएनएका लागि नमुना संकलन, शव गाड्न निश्चित दूरीअनुसार स्थान निर्धारण तथा शव वा शवका टुक्रालाई विशेष प्रकारको ब्यागमा राखेर ब्यागभित्रै शवको पहिचान खुल्ने संकेत नम्बर उल्लेख गरिएको छ,” रेग्मीले भने।
उनका अनुसार भविष्यमा व्यवस्थापन गरिएका शव पहिचान भएर निकाल्नुपर्ने अवस्था आएमा सहज होस् भन्ने उद्देश्यले प्रत्येक शवलाई दिइएको संकेत नम्बर जमिनको सतहमा कङ्क्रिट ढलानमार्फत राखिएको छ। साथै व्यवस्थापन गरिएको स्थानको जीपीएस नक्सांकनसमेत गरिएको छ।
६५ शव सुरक्षित स्थानमा व्यवस्थापन
पहिचान नभएका शवलाई विदुर नगरपालिका–६ खम्पाक्याम्पस्थित केन्द्रीय कारागार तथा फोहर डम्पिङ क्षेत्र नजिकैको सुरक्षित स्थानमा व्यवस्थापन गरिएको हो।
नुवाकोट र रसुवाबाट पहिचान नभएका शव यसअघि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा पठाउँदै आएको थियो। तर ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार अब जिल्लामै व्यवस्थित रूपमा शव व्यवस्थापन गर्नुपर्ने भएपछि खम्पाक्याम्पमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
आईसीआरसीको मापदण्डअनुसार व्यवस्थापन
शव व्यवस्थापनमा अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डलाई आधार बनाइएको प्रहरीले जनाएको छ। शवको संकेत नम्बर, डीएनए नमुना तथा जीपीएस नक्सांकनसहित अभिलेख राखिएकाले भविष्यमा कुनै शवको पहिचान खुलेमा पुनः निकालेर परिवारलाई हस्तान्तरण गर्न सहज हुने बताइएको छ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म नुवाकोटमा २०२ र रसुवामा १८६ शव फेला परेका छन्।
तीमध्ये रसुवामा १० र नुवाकोटमा १८ जनाको पहिचान खुलेपछि सम्बन्धित परिवारले शव बुझिसकेका छन्। बाँकी पहिचान नभएका शव यसअघि व्यवस्थापनका लागि काठमाडौं पठाइँदै आएको थियो।
प्रतिक्रिया