काठमाडौं। हरितालिका तिजका अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ७७ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चोरी, लुटपाट, महिलामाथि दुर्व्यवहार तथा अन्य अवाञ्छित गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार तिजका अवसरमा पशुपति क्षेत्रमा हुने अत्यधिक भीडलाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको थियो।
भिडभाड हुने क्षेत्रमा सादा पोसाकमा प्रहरी कर्मचारी परिचालन गरी निगरानी बढाइएको थियो। सोही क्रममा शंकास्पद गतिविधिमा संलग्न देखिएका तथा चोरी, लुटपाट र महिलामाथि दुर्व्यवहारमा संलग्न रहेको आरोप लागेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तिजको अवसरमा पशुपति क्षेत्रमा ठूलो संख्यामा भक्तजन तथा दर्शनार्थीको उपस्थिति हुने भएकाले सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरीले निगरानी तथा सुरक्षा जाँचलाई समेत कडाइ गरेको थियो।
प्रतिक्रिया