काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न नसकेका केही शवको मंगलबार काठमाडौंको गोकर्णेश्वर–७ स्थित दक्षिणढोका जंगल क्षेत्रमा जमिनमुनि अस्थायी व्यवस्थापन गरिएको छ।
बाढीपछि विभिन्न स्थानबाट फेला परेका ती शवको पहिचान तत्काल खुल्न नसकेपछि आवश्यक प्रक्रिया पूरा गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको हो।
शव व्यवस्थापन गर्नुअघि सम्बन्धित निकायले डीएनए नमुना तथा आवश्यक फरेन्सिक अभिलेख संकलन गरेको जनाइएको छ। भविष्यमा परिवारका सदस्यले शवको पहिचान गर्न सकेमा आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई जिम्मा लगाइने बताइएको छ।
विनाशकारी भोटेकोशी बाढीका कारण ठूलो मानवीय क्षति भएपछि विभिन्न जिल्लाबाट पहिचान हुन नसकेका शव तथा मानव अंगसमेत फेला परिरहेका छन्। ठूलो संख्यामा शव फेला परेपछि पहिचान, वैज्ञानिक अभिलेखीकरण तथा सुरक्षित व्यवस्थापन सम्बन्धित निकायका लागि चुनौती बनेको छ।
गोकर्णेश्वर–७ मा गरिएको अस्थायी व्यवस्थापनका क्रममा शवको पहिचान तथा भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सहज हुने गरी आवश्यक विवरण र नमुना सुरक्षित राखिएको जनाइएको छ।
सम्बन्धित निकायले विपद्का क्रममा बेपत्ता भएका आफन्तको खोजीमा रहेका परिवारलाई उपलब्ध विवरण तथा आवश्यक प्रमाणका आधारमा सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया