काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाबीच कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। सम्झौताले नगरपालिकाको समग्र सेवा प्रवाह, प्रशासनिक कार्यसम्पादन तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
नगरपालिकाको कार्यसम्पादनलाई स्पष्ट जिम्मेवारी, समयसीमा र अपेक्षित नतिजासँग जोड्दै नागरिकलाई प्रभावकारी तथा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो। सम्झौताले नगरपालिकाको प्रशासनिक प्रणालीलाई थप उत्तरदायी, पारदर्शी र नतिजामुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
यसैगरी, प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको उपस्थितिमा बुढानीलकण्ठ नगरपालिकाअन्तर्गतका विभिन्न महाशाखाबीच समेत कार्यसम्पादन सम्झौता सम्पन्न भएको छ। महाशाखाहरूले आफ्नो जिम्मेवारी, निर्धारित कार्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्ने गरी सम्झौता गरिएको नगरपालिकाले जनाएको छ।
महाशाखाबीच भएको कार्यसम्पादन सम्झौताले कार्यालयभित्रको समन्वयलाई थप मजबुत बनाउँदै जिम्मेवारी स्पष्ट गर्ने, कामको नियमित अनुगमन तथा मूल्यांकन गर्ने र तोकिएको लक्ष्य समयमै हासिल गर्ने वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
नगरपालिकाको विकास निर्माणदेखि प्रशासनिक सेवा, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पूर्वाधार, आर्थिक तथा अन्य क्षेत्रका कार्यक्रमलाई योजनाबद्ध र प्रभावकारी रूपमा अघि बढाउन कार्यसम्पादन सम्झौता महत्वपूर्ण हुने देखिएको छ।
कार्यसम्पादन सम्झौतामार्फत जनप्रतिनिधि, प्रशासन तथा विभिन्न महाशाखाबीचको सहकार्य र समन्वयलाई संस्थागत गर्दै ‘काम गर्ने, परिणाम दिने र नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने’ प्रशासनिक संस्कृतिको विकास गर्ने लक्ष्य लिइएको छ।
नगरपालिकाले आगामी दिनमा सम्झौतामा समेटिएका कार्यहरूको नियमित अनुगमन, प्रगति मूल्यांकन तथा आवश्यक सुधारमार्फत सेवा प्रवाहलाई अझ चुस्त र नागरिकमैत्री बनाउने अपेक्षा गरिएको छ।
बुढानीलकण्ठ नगरपालिकामा नगरप्रमुखदेखि प्रमुख प्रशासकीय अधिकृत र विभिन्न महाशाखासम्म कार्यसम्पादन सम्झौता सम्पन्न हुनुलाई नगरपालिकाको प्रशासनिक सुधार तथा नतिजामुखी कार्यशैलीतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

प्रतिक्रिया