बाढीले बगाएको त्रिशूली मावि भारतले पुनः बनाइदिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८३, बुधबार ०६:०६

काठमाडौं । भोटेकोशी नदीको विनाशकारी बाढीले बगाएको नुवाकोट सदरमुकाम विदुरस्थित त्रिशूली माध्यमिक विद्यालयको भवन भारत सरकारले पुनः निर्माण गरिदिने भएको छ।

चार वर्षअघि भारतीय अनुदान सहयोगमा निर्माण भएको विद्यालय भवन बाढीले पूर्ण रूपमा बगाएपछि भारतले नै नयाँ भवन निर्माण गरिदिने जानकारी नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दिएका हुन्।

मंगलबार विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाडीसँगको भेटका क्रममा राजदूत श्रीवास्तवले विद्यालय भवन पुनः निर्माण गरिदिने घोषणा गरेका हुन्।

भोटेकोशीमा आएको आकस्मिक बाढीका क्रममा प्रधानाध्यापक दुवाडीले समयमै विद्यार्थीलाई विद्यालयबाट सुरक्षित स्थानमा पठाएका थिए। उनको तत्कालको निर्णयका कारण १ हजार ६०० भन्दा बढी विद्यार्थीको ज्यान जोगिएको विषय अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको छ।

समयमै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएका दुवाडीको कदमलाई विद्यालय समुदायले समेत महत्वपूर्ण मान्दै आएको छ।

सन् १९५१ मा स्थापना भएको त्रिशूली माध्यमिक विद्यालय नुवाकोटको पुरानो तथा महत्वपूर्ण शैक्षिक संस्था हो। विद्यालयको भवनको डिजाइन त्रिशूली जलविद्युत् आयोजनाको निर्माणमा संलग्न भारतीय इन्जिनियर के.आई. सिंहले गरेका थिए।

भारतीय सहयोगमा निर्माण भएको नयाँ विद्यालय भवनको २०७९ साउन १७ गते उद्घाटन गरिएको थियो। भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रमसिंह ठकुरीले भवन उद्घाटन गरेका थिए।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाख रुपैयाँ लागतमा सामुदायिक विकास परियोजनाका रूपमा उक्त विद्यालय भवन निर्माण गरिएको थियो।

विनाशकारी बाढीले विद्यालय भवन नै बगाएपछि पठनपाठनमा परेको असरलाई मध्यनजर गर्दै भारत सरकारले पुनः विद्यालय भवन निर्माण गर्ने प्रतिबद्धता जनाएको हो। यसले बाढीबाट प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor