चार महिनामा विपद्का घटनामा १६६ जनाको मृत्यु, ४५ सयभन्दा बढी परिवार प्रभावित
rastriyakhabar
४ श्रावण २०८३, सोमबार ०६:१८
काठमाडौं । गत वैशाख महिनादेखि हालसम्म देशभर भएका विभिन्न प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परी १६६ जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा देशभर कुल तीन हजार ४३५ वटा विपद्का घटना दर्ता भएका छन्।
प्राधिकरणका अनुसार यी घटनामा ९८८ जना घाइते भएका छन् भने चार हजार ५३१ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। तथ्याङ्कअनुसार सबैभन्दा धेरै ९१४ वटा आगलागीका घटना भएका छन्।
त्यस्तै, चार महिनाको अवधिमा ५३५ वटा सर्पदंश, ४९५ वटा पहिरो, ४७८ वटा हुरीबतास, २२९ वटा चट्याङ, १९१ वटा डढेलो, १९० वटा जनावरको आक्रमण, १७१ वटा बाढी, १६६ वटा भारी वर्षा, ५५ वटा लेक लाग्ने, चार वटा असिना, दुई वटा हिउँपहिरो, एउटा डुङ्गा पल्टिएको तथा अन्य चार वटा विपद्का घटना दर्ता भएका छन्।
यसैबीच, पछिल्लो २४ घण्टामा (साउन २ गते बिहानदेखि ३ गते बिहानसम्म) देशभर ५८ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाले ४५ जिल्ला प्रभावित भएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
प्रतिक्रिया