बुढानीलकण्ठ वडा नं. १ मा विद्यार्थी तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ असार २०८३, मंगलवार १७:०७

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ को आयोजनामा विद्यार्थीहरूलाई लक्षित गर्दै “वडा अध्यक्ष तथा जनप्रतिनिधिसँग विद्यार्थी तथा लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम” सञ्चालन हुने भएको छ।

बुढानीलकण्ठ–१ स्थित सेन्ट जेभियर्स इङ्ग्लिस एकेडेमीमा आयोजना हुने उक्त कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधि, शिक्षक तथा कक्षा ८ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहनेछ। कार्यक्रमको सहजीकरण प्राइड सेन्टरले गर्ने जनाएको छ।

कार्यक्रममार्फत विद्यार्थीहरूलाई लागूऔषध तथा दुर्व्यसनको परिचय, विभिन्न प्रकारका लागूऔषध र तिनका असर, किशोरावस्थामा कुलतको जोखिम, लागूऔषध सम्बन्धी कानुनी व्यवस्था, स्वस्थ जीवनशैली तथा सकारात्मक सोच, सफल व्यक्तित्व निर्माणमा अनुशासनको भूमिकालगायत विषयमा जानकारी प्रदान गरिनेछ। साथै विद्यार्थी र जनप्रतिनिधिबीच प्रत्यक्ष अन्तरक्रिया समेत गराइनेछ।

कार्यक्रमबारे जानकारी दिँदै वडा नं. १ का वडा अध्यक्ष सुरेन्द्र लामाले किशोरकिशोरीहरूलाई कुलतबाट जोगाउन विद्यालयस्तरबाटै सचेतना फैलाउन आवश्यक रहेको बताए। उनले भने, “आजको युवा पुस्ता नै भोलिको राष्ट्र निर्माणको आधार हो। लागूऔषध दुर्व्यसन समाजकै गम्भीर चुनौती बनेको अवस्थामा विद्यार्थीहरूलाई समयमै सही जानकारी र सकारात्मक मार्गदर्शन दिनु हाम्रो दायित्व हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र जिम्मेवारीबोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं।”

वडा अध्यक्ष लामाले अभिभावक, विद्यालय र समुदायबीचको सहकार्यबाट मात्र दुर्व्यसनमुक्त समाज निर्माण सम्भव हुने उल्लेख गर्दै युवाहरूलाई अध्ययन, खेलकुद, सिर्जनात्मक तथा सामाजिक गतिविधिमा सक्रिय हुन आग्रह गरे।

बुढानीलकण्ठ वडा नं. १ ले युवा पुस्तालाई कुलतबाट जोगाई स्वस्थ, सचेत र जिम्मेवार नागरिक निर्माण गर्ने उद्देश्यका साथ यस्ता जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ। कार्यक्रमबाट विद्यार्थीहरूमा लागूऔषध तथा दुर्व्यसनप्रति सचेतना अभिवृद्धि हुनुका साथै विद्यालय र समुदायमा सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor