रास्वपाको पहिलो महाधिवेशन आजदेखि : नयाँ नेतृत्व चयनका लागि चितवनमा चार हजार प्रतिनिधि भेला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०८३, आईतवार ०६:०२

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ। पार्टी स्थापना भएको दुई वर्ष नपुग्दै हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गर्नेछ।

देशभरबाट करिब चार हजार प्रतिनिधि तथा नेता–कार्यकर्ता चितवन पुगेका छन्। सभापति, वरिष्ठ नेता, उपसभापति र महामन्त्रीजस्ता शीर्ष पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेका बेला केन्द्रीय सदस्य पदका लागि भने तीव्र प्रतिस्पर्धा देखिएको छ।

रास्वपाको १५० सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचनबाट चयन हुनेछन् भने ५१ जना सभापतिले मनोनित गर्ने व्यवस्था छ। ती ९९ सिटका लागि सयौं आकांक्षी मैदानमा उत्रिएका छन्। बहालवाला सांसददेखि पार्टीका विभिन्न तहका नेताहरूले समेत केन्द्रीय सदस्यमा दाबी गरेका छन्।

महाधिवेशनको पूर्वसन्ध्यामा मधेस प्रदेशबाट पर्याप्त प्रतिनिधित्व नभएको भन्दै विशेष व्यवस्था गर्न माग उठेको छ। मधेसका नेताहरूले नेतृत्वसँग यस विषयमा छलफल गर्ने तयारी गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार असार ८ गते उम्मेदवारी दर्ता हुनेछ भने असार ९ गते सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान गरिनेछ। त्यसपछि निर्वाचित केन्द्रीय सदस्यहरूले पदाधिकारी चयन गर्नेछन्।

उम्मेदवारी शुल्क पनि अन्य दलको तुलनामा उच्च राखिएको छ। सभापति पदका लागि ५१ हजार, पदाधिकारीका लागि ४१ हजार र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ शुल्क तोकिएको छ।

तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनलाई रास्वपाले आफ्नो शक्ति प्रदर्शन, संगठन विस्तार तथा आन्तरिक लोकतन्त्रको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ।

प्रतिक्रिया

slot gacor