काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ र ८ को सिमानामा निर्माण सम्पन्न भएको माकलबारी गोल्डेन पुल (सुनौलो पुल) भव्य समारोहबीच उद्घाटन गरिएको छ। स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रममा जनसागर नै उर्लिएको थियो।
कार्यक्रममा नगरप्रमुख दीपक रिसाल को उपस्थितिलाई लिएर स्थानीयवासीहरूमा विशेष उत्साह देखिएको थियो। उद्घाटन समारोहमा सहभागीहरूको बाक्लो उपस्थितिले नगरप्रमुख रिसालप्रति नागरिकहरूको विश्वास, समर्थन र लोकप्रियता झल्काएको सहभागीहरूले बताएका छन्।
स्थानीयवासीहरूले पुल निर्माणले वर्षौंदेखिको आवतजावतको समस्या समाधान हुनुका साथै वडा नं. ४ र ८ बीचको सम्बन्ध अझ मजबुत भएको बताएका छन्। पुल सञ्चालनमा आएपछि विद्यार्थी, ज्येष्ठ नागरिक, व्यवसायी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख रिसालले गोकर्णेश्वरको समग्र विकास, पूर्वाधार विस्तार र नागरिकको जीवनस्तर सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए। उनले विकास निर्माणका कामलाई अझ तीव्रता दिँदै नगरवासीको अपेक्षाअनुसार परिणाममुखी कार्यहरू अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
माकलबारी गोल्डेन पुल उद्घाटन समारोहले केवल एउटा पूर्वाधार परियोजनाको उद्घाटन मात्र नभई गोकर्णेश्वरको विकास यात्राप्रति नागरिकको विश्वास र उत्साहलाई समेत उजागर गरेको स्थानीयहरूको भनाइ छ। उद्घाटन कार्यक्रममा देखिएको जनलहरले नगरप्रमुख दीपक रिसालको बढ्दो लोकप्रियता र जनसमर्थनलाई थप पुष्टि गरेको चर्चा सहभागीबीच सुनिएको थियो।
प्रतिक्रिया