टोखा नगरपालिकाबाट आन्तरिक राजस्वसम्बन्धी सेवा सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८३, मंगलवार ०६:०५

काठमाडौं ।  टोखा नगरपालिकाले आगामी असार १ गतेदेखि आन्तरिक राजस्व कार्यालयमार्फत प्रदान हुँदै आएका केही राजस्वसम्बन्धी सेवा आफ्नै कार्यालयबाट सञ्चालन गर्ने भएको छ।

नेपाल सरकारको २०८२ कात्तिक १७ गतेको निर्णय तथा टोखा नगरपालिका, आन्तरिक राजस्व कार्यालय बालाजु र आन्तरिक राजस्व कार्यालय महाराजगञ्जबीच भएको समझदारीअनुसार उक्त सेवा स्थानीय तहबाटै उपलब्ध गराउन लागिएको हो।

नगरपालिकाका अनुसार अब व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) जारी गर्ने, नगरपालिका क्षेत्रभित्र दर्ता भएका व्यवसायलाई व्यवसायिक प्यान उपलब्ध गराउने तथा करदातासम्बन्धी विभिन्न सेवा स्थानीय तहबाटै प्राप्त गर्न सकिनेछ।

त्यसैगरी मूल्य अभिवृद्धि कर (VAT) दर्ताका लागि आवश्यक सिफारिस तथा दर्ता प्रमाणपत्र उपलब्ध गराउने सेवा पनि नगरपालिकाबाटै प्रदान गरिनेछ। अन्तःशुल्क इजाजतपत्र आवश्यक पर्ने व्यवसायका लागि नयाँ इजाजतपत्र तथा नवीकरणसम्बन्धी सिफारिससमेत अब स्थानीय तहबाट हुने जनाइएको छ।

यसैगरी कर चुक्ता प्रमाणपत्रका लागि आवश्यक सिफारिस तथा करदाताको दर्ता विवरण संशोधनसम्बन्धी सेवासमेत स्थानीय तहबाटै उपलब्ध हुनेछन्।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी का अनुसार संघीय सरकारको निर्णयअनुसार राजस्व प्रशासनसँग सम्बन्धित केही सेवा स्थानीय तहमा हस्तान्तरण गरिएको हो। यसले सेवाग्राहीलाई आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने बाध्यता हटाई सेवा प्रवाहलाई थप सहज, छिटोछरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

slot gacor