तारकेश्वरमा श्रीमतीको हत्या प्रकरणमा चार जना पक्राउ
rastriyakhabar
२५ जेष्ठ २०८३, सोमबार ०५:५२
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा ४२ वर्षीया ईश्वरी भुजेलको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतकका श्रीमान् ४२ वर्षीय कुमार थापा (जो ‘नेपाली ब्रो’ उपनामले चिनिन्छन्) सहित अन्य तीन जना रहेका छन्। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादका क्रममा घटनामा संलग्नता देखिएको प्रहरीले जनाएको छ।
गत शुक्रबार राति करिब १०:१० बजे भएको घटनामा गम्भीर घाइते भएकी भुजेलको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको हो। घटनापछि दर्ता भएको जाहेरीका आधारमा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्ने अन्यमा नुवाकोटका ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्ला घर भई हाल गोकर्णेश्वर–८ मा बस्ने २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार पक्राउ परेकालाई अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान अघि बढाइएको छ। प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान जारी राखेको जनाएको छ।
प्रतिक्रिया