गोकर्णेश्वर–९ मा विपन्न समुदाय लक्षित निःशुल्क डेन्टल शिविर, समयमै दाँत परीक्षण गराउन आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०८३, बुधबार ०५:३४

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आयोजनामा तथा ओम चाबहिल डेन्टल प्रा.लि. को प्राविधिक सहयोग र शुभम मल्टिमिडिया को सहजीकरणमा विपन्न समुदाय लक्षित निःशुल्क डेन्टल शिविर सञ्चालन हुने भएको छ।

आगामी २०८३ साल असार २१ गते  बिहिबार  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन हुने उक्त शिविर आरुबारी चोक मा आयोजना गरिनेछ। शिविरमा दाँत तथा मुख स्वास्थ्यसम्बन्धी निःशुल्क परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।

वडा नं. ९ ले समुदायमा मुख तथा दाँत स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गर्न लागेको जनाएको छ। विशेषगरी आर्थिक रूपमा विपन्न, ज्येष्ठ नागरिक, महिला तथा नियमित दन्त परीक्षण गर्न नसकेका स्थानीयवासीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिन लागेको हो।

विशेषज्ञ चिकित्सकहरूका अनुसार दाँत तथा मुख स्वास्थ्यको नियमित परीक्षणले दाँत किराले खाने, गिजा सुन्निने, मुख गन्हाउने, दाँत हल्लिने तथा मुखभित्र हुने विभिन्न संक्रमणजन्य रोगहरू प्रारम्भिक अवस्थामै पत्ता लगाउन मद्दत पुर्‍याउँछ। समयमै समस्या पहिचान गरी उपचार गर्न सकेमा भविष्यमा लाग्न सक्ने ठूलो आर्थिक भार र स्वास्थ्य जटिलताबाट समेत बच्न सकिन्छ।

मुख स्वास्थ्यलाई मानव शरीरको समग्र स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडेर हेरिन्छ। दाँत तथा गिजाको समस्याले खाना चपाउन कठिन हुने, पाचन प्रणालीमा असर पर्ने तथा अन्य स्वास्थ्य समस्या समेत निम्त्याउन सक्ने भएकाले नियमित परीक्षण आवश्यक मानिन्छ। विशेषज्ञहरूका अनुसार वर्षमा कम्तीमा दुई पटक दन्त परीक्षण गराउनु उपयुक्त हुन्छ।

वडा कार्यालयले शिविरबाट अधिकतम लाभ लिन स्थानीयवासीलाई समयमै उपस्थित हुन आग्रह गरेको छ। निःशुल्क रूपमा उपलब्ध हुने स्वास्थ्य सेवाको सदुपयोग गर्दै मुख तथा दाँत स्वास्थ्यप्रति सचेत बन्नुपर्नेमा जोड दिइएको छ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले स्वास्थ्य, शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा यस्ता जनहितमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। आयोजकका अनुसार शिविरबाट सयौं स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

slot gacor