संसद् अगाडि ‘जेनजी’ सहिदको सालिक बनाउन रास्वपा सांसद रचना खतिवडाको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०८३, बिहीबार ०५:१३

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्री ले संसद् भवनको मुख्य प्रवेशद्वार अगाडि ‘जेनजी’ सहिदहरूको सालिक निर्माणको काम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन्। प्रतिनिधि सभाको जारी बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो माग गरेकी हुन्।

सांसद खतिवडाले परिवर्तनका लागि ज्यान आहुति दिने सहिदहरूको योगदानलाई केवल भाषण र औपचारिक कार्यक्रममा सीमित राख्न नहुने बताइन्। आन्दोलनका क्रममा घाइते भएका नागरिकहरूले अझै पनि पीडा भोगिरहेको उल्लेख गर्दै उनले राज्यले उनीहरूलाई व्यावहारिक न्याय दिनुपर्ने आवश्यकता औँल्याइन्।

उनले पछिल्लो जनआन्दोलन तथा परिवर्तनमा युवा पुस्ता अर्थात् ‘जेनजी’ को भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको योगदानलाई इतिहासमा जीवन्त राख्न संसद् परिसर उपयुक्त स्थान हुने धारणा व्यक्त गरिन्।

सांसद खतिवडाले सहिद परिवार र घाइतेहरूको अवस्था सुधार, सम्मान तथा उचित व्यवस्थापनका विषयमा सरकार गम्भीर बन्नुपर्नेमा पनि जोड दिइन्। उनले संसद्‌मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सहिदहरूको सम्मानमा ठोस कदम चाल्न आग्रह गरेकी छन्।

प्रतिक्रिया

Leave a Reply