पर्सा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गाप्रसाद प्रसाईँलाई थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
प्रसाईँमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्ध घृणा वा द्वेष फैलाएको, विभिन्न जातजाति तथा सम्प्रदायबीचको सामाजिक सद्भावमा खलल पुर्याएको तथा नेपाल सरकारप्रति निराधार र अप्रमाणित आरोप लगाई अवहेलना गरेको अभियोग उनीमाथि लगाइएको छ।
पर्सा प्रहरीले सोमबार राति वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट ‘जरुरी पक्राउ पुर्जी’ थमाएर प्रसाईँलाई नियन्त्रणमा लिएको थियो।
पर्सा प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार प्रसाईँलाई हाल प्रहरी हिरासतमा राखी आवश्यक कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
प्रतिक्रिया