वीरगन्जबाट दुर्गा प्रसाईं पक्राउ, कार्यक्रमअघि नै नियन्त्रणमा
rastriyakhabar
५ जेष्ठ २०८३, मंगलवार ०५:१०
वीरगन्ज। व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं लाई प्रहरीले पर्साको वीरगन्ज बाट पक्राउ गरेको छ ।
प्रहरीले उनलाई जरुरी पक्राउ पुर्जी थमाएर नियन्त्रणमा लिएको जनाएको छ । आफ्नो महाअभियानअन्तर्गतको कार्यक्रमका सिलसिलामा वीरगन्ज पुगेका प्रसाईंलाई कार्यक्रम सञ्चालन हुनुअघि नै नियन्त्रणमा लिइएको हो ।
महाअभियानको कार्यक्रम भोलि (बुधबार) का लागि तय गरिएको थियो । तर स्थानीय प्रशासनबाट अनुमति नपाएको भन्दै प्रहरीले कार्यक्रम रोक्नका लागि प्रसाईंलाई नियन्त्रणमा लिएको बुझिएको छ ।
यसअघि पनि प्रसाईंले पर्सा जिल्लामा पटक–पटक कार्यक्रम आयोजना गर्ने प्रयास गरेका थिए । तर स्थानीय प्रशासनले अनुमति नदिएको कारण देखाउँदै प्रहरीले उनीमाथि निगरानी बढाउनुका साथै कार्यक्रम सञ्चालनमा रोक लगाउँदै आएको थियो ।
प्रहरी स्रोतका अनुसार जिल्लाको सुरक्षा अवस्था र सम्भावित भीड व्यवस्थापनलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सतर्कता अपनाइएको छ । पक्राउपछि प्रसाईंलाई कहाँ राखिएको छ भन्नेबारे भने प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।
प्रतिक्रिया