कांग्रेसभित्र फेरि चुलियो शक्ति संघर्ष, खड्का समूहको चेतावनी– ‘पार्टी विभाजनको डिलमा’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०८३, सोमबार ०५:२९

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवाद र शक्ति संघर्ष फेरि सतहमा आएको छ । आगामी १५औँ महाधिवेशन नजिकिँदै जाँदा संस्थापन र इतर पक्षबीच धम्की र फकाउने राजनीतिको नयाँ शृङ्खला सुरु भएको हो ।

पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहले पार्टी विभाजनको चेतावनी दिँदै समानान्तर गतिविधि तीव्र बनाएको छ भने वर्तमान सभापति गगन थापा ले असन्तुष्ट पक्षलाई समेट्ने संकेतसहित लचकता देखाएका छन् ।

सुर्खेतको वीरेन्द्रनगर मा आयोजित ‘नेपाली कांग्रेसको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक दुईदिने विचार गोष्ठीमा बोल्दै नेता खड्काले कांग्रेस विभाजनको सँघारमा पुगेको दाबी गरे । स्थानीय तहदेखि केन्द्रसम्म समानान्तर शक्ति प्रदर्शन गरिरहेको खड्का समूहको तर्फबाट उनले नेतृत्वलाई स्पष्ट चेतावनी दिएका हुन् ।

खड्काले पार्टी नेतृत्वलाई विभाजनको बाटोमा नजान सुझाव दिँदै भने, “पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु, तर पार्टी मिलाउने कि फुटाउने भन्ने जिम्मा दुई जनाको हातमा छ ।” उनले सभापति गगन थापालाई सानेपाको मात्र नभई सिंगो कांग्रेसको नेता बन्न र सबै क्रियाशील सदस्यलाई अपनत्व महसुस गराउन आग्रह गरे ।

खड्का समूहको दबाबबीच सभापति थापाले भने मध्यमार्गी र समावेशी रणनीति अघि सारेका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले १४औँ महाधिवेशनबाट निर्वाचित तर हाल कार्यसमितिबाहिर रहेका नेताहरूलाई सम्मानजनक स्थान दिन आफू तयार रहेको बताए ।

विशेष महाधिवेशनमा छुटेका नेताहरूलाई केन्द्रीय समिति तथा अन्य महत्वपूर्ण समितिमा समेट्ने प्रस्ताव राख्दै थापाले भने, “१४औँ महाधिवेशनबाट निर्वाचित जो नेताहरू मेरो समितिभित्र हुनुहुन्न, उहाँहरूलाई आवश्यक सम्मानसहित सँगै लिएर काम गर्न चाहन्छु ।”

सभापति थापाले १५औँ महाधिवेशनलाई पारदर्शी बनाउन निर्वाचन, सदस्यता छानबिन तथा अनुशासन समितिमा समेत इतर पक्षका नेताहरूलाई समेट्न सकिने भन्दै छलफलमा आउन आग्रह गरे । साथै, विशेष महाधिवेशनमा सहभागी भएको वा नभएको आधारमा कुनै पनि तहमा विभेद नगरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टी एकताका लागि आफूले सार्वजनिक मञ्चदेखि नेताहरूको घरदैलोसम्म पुगेर पहल गरिरहेको दाबी गर्दै असन्तुष्ट पक्षप्रति गुनासो समेत गरे । “म खुलेआम सबैलाई सँगै लिएर जाने कुरा गरिरहेको छु, बन्द कोठामा पनि अझ बढी निहुरिएर भनेँ होला,” उनले भने ।

कांग्रेसभित्रको विवाद सदस्यता अद्यावधिकको विषयले अझ चर्किएको छ । संस्थापन पक्षले ‘जरा अभियान’ अन्तर्गत वैशाख १ गतेदेखि देशव्यापी रूपमा सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ । तर खड्का नेतृत्वको इतर पक्षले आफ्ना कार्यकर्तालाई सदस्यता अद्यावधिक नगर्न आह्वान गरेको छ ।

यसअघि क्रियाशील सदस्यताकै विवादका कारण तय भएको १५औँ महाधिवेशन स्थगित भएको थियो । पछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा को अगुवाइमा विशेष महाधिवेशन सम्पन्न भएको थियो, जसबाट गठित कार्यसमितिलाई सर्वोच्च अदालतले वैधता दिएको थियो ।

सर्वोच्च अदालतको मान्यतापछि आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशनको मिति तय गरिएको छ । संस्थापन पक्षले सदस्यता अद्यावधिक नगरे महाधिवेशनमा सहभागी हुन नपाउने स्पष्ट गर्दै समयसीमा आगामी २१ जेठसम्म थप गरेको छ ।

महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र देखिएको ‘धम्क्याउने र फकाउने’ राजनीति पार्टीलाई नयाँ ध्रुवीकरणतर्फ धकेल्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

slot gacor