फोहोरबाट फैलियो चेतना : चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ता उत्साह, प्रतिस्पर्धा र सामाजिक सन्देशसहित सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
२ जेष्ठ २०८३, शनिबार २१:४०

काठमाडौं । शनिबार बिहान चक्रपथ क्षेत्रमा देखिएको दृश्य सामान्य थिएन । हातमा  फोहोर उठाउने सामग्री बोकेर सडकमा दौडिरहेका अभियन्ताहरु केवल प्रतियोगितामा सीमित थिएनन्, उनीहरु समाजलाई “सफा वातावरण सभ्य समाजको आधार हो” भन्ने सन्देश दिन मैदानमा उत्रिएका थिए ।

चक्रपथ सरसफाई महाअभियानको ४७६ औं हप्ताको अवसरमा आयोजित फोहोर संकलन प्रतियोगिता उत्साहजनक सहभागिता र जनचेतनामूलक सन्देशसहित भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम सानो आकारको भए पनि यसको प्रभाव निकै ठूलो र अर्थपूर्ण बनेको सहभागीहरुको भनाइ छ ।

प्रतियोगितामा सहभागी १२ जना अभियन्तामध्ये हिमालयन वातावरण प्रा.लि.का विनोद गिरी प्रथम, बिनायक फोहोर व्यवस्थापन प्रा.लि.का सतिश कुमार द्वितीय तथा चक्रपथ सरसफाई महाअभियानकी सक्रिय अभियन्ता दिपिका खनाल तृतीय हुन सफल भएका थिए । विजेताहरुलाई खुसी इन्डष्ट्रिज नेपालको उत्पादन “माईती लिक्विड डिसवास” को तर्फबाट विशेष उपहार प्रदान गरिएको थियो ।

त्यस्तै ॐ बुद्ध डेन्टल प्रा.लि., बालाजु बाइपासले समेत विजेताहरुलाई उपहार प्रदान गरेको थियो । अझ विशेष कुरा, प्रथम हुने विनोद गिरीलाई एक पटकका लागि निःशुल्क दन्त परीक्षण तथा उपचार सेवा उपलब्ध गराइने घोषणा भएपछि कार्यक्रममा थप उत्साह थपिएको थियो ।

कार्यक्रममा सहभागी अभियन्ताहरुलाई खुसी डेरी उद्योगको तर्फबाट सामाजिक अभियन्ता ध्रुव तिवारीले शुद्ध मोही वितरण गरेका थिए भने कलंकी निवासी दिक्षा थापाले पिउने पानीको व्यवस्था गरेर अभियानप्रति आफ्नो सामाजिक उत्तरदायित्व प्रस्तुत गरेकी थिइन् ।

ग्रीन सिटी हस्पिटल, बसुन्धारा कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो । त्यस्तै तुफान न्यूज डटकम, राष्ट्रिय खबर डटकम, नेपाली मिडिया अनलाइन टिभी, बीएमएन न्यूज, मिसन भण्डाफोर, रोज नेपाल डटकम र साराखबर डटकमले समाचार, प्रचारप्रसार तथा जनचेतनामूलक सामग्रीमार्फत अभियानलाई साथ दिएका थिए ।

प्रतियोगिताको निर्णयक मण्डलमा चक्रपथ सरसफाई महाअभियानका संयोजक लोक बहादुर टण्डन, ओम विकास निरौला तथा सञ्चारकर्मी लोकेन्द्र राउत रहेका थिए । कार्यक्रममा स्वयंसेवकको रुपमा सक्रिय अभियन्ता जित बहादुर हमालसँगै डा. पुष्कर काफ्ले, पुण्य रत्न बज्राचार्य, सुरेन्द्र सेडाई, गोपाल थापा लगायतको सक्रिय सहभागिता रहेको थियो । मिडिया संयोजनको जिम्मेवारी सक्रिय अभियन्ता लिला खनालले सम्हालेकी थिइन् ।

कार्यक्रमको व्यवस्थापन सामाजिक अभियन्ता तथा मिडियाकर्मी डिबी पराजुली, राष्ट्रिय गायक तिलक बस्नेत तथा युवा अभियन्ता सुन्दर खनालले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा बिनायक फोहोर मैला व्यवस्थापन प्रा.लि., हिमालयन वातावरण संरक्षण प्रा.लि. तथा नेप्सेम्याक महाराजगञ्ज शाखाको उल्लेखनीय सहभागिता रहेको थियो ।

यसैबीच, केपी फोटो स्टुडियो बसपार्कले प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई फोटोसहितको आकर्षक फ्रेम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

सफा शहर निर्माणको सपना बोकेको यो अभियानले फेरि एकपटक देखाएको छ— परिवर्तन भाषणले होइन, सहभागिता र व्यवहारबाट सम्भव हुन्छ ।

प्रतिक्रिया

slot gacor