काठमाडौं । नेपाली प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दूरसञ्चार सेवा प्रदायक Ncell को कार्यालयमा छापा मारेको छ। स्मार्ट टेलिकमको उपकरण खरिदसम्बन्धी अनुसन्धानका क्रममा सीआईबी टोली एनसेलको कार्यालय पुगेको हो।
स्रोतका अनुसार सीआईबीले ललितपुरको नक्खुस्थित Ncell कार्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ। एनसेलका एक कर्मचारीका अनुसार अनुसन्धान टोलीले सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठका विषयमा विशेष सोधपुछ गरेको थियो।
यता, Ncell ले भने सीआईबीले स्मार्ट टेलिकमका उपकरण तथा टावरहरूको लिलामीसम्बन्धी केही कागजात पत्रमार्फत माग गरेको र सोहीअनुसार आवश्यक विवरण उपलब्ध गराइएको जनाएको छ।
सीआईबी स्रोतका अनुसार एनसेल अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन तथा नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो।
स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण खरिद, टावर लिलामी तथा त्यससँग जोडिएका वित्तीय र प्रशासनिक पक्षबारे अनुसन्धान जारी रहेको जनाइएको छ।
प्रतिक्रिया