काठमाडौं । प्रतिनिधि सभाको पछिल्लो बैठकमा नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रयोग गरेका केही अभिव्यक्तिहरू असंसदीय ठहर गर्दै सभामुख डोलप्रसाद अर्यालले ती शब्द संसद्को आधिकारिक रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
सदनमा जारी छलफलका क्रममा नेता थापाले प्रयोग गरेका केही पदावलीहरू अपमानजनक तथा संसद्को मर्यादा विपरीत रहेको भन्दै सत्तापक्षका सांसदहरूले तत्काल नियमापत्ति जनाएका थिए। त्यसपछि सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली २०७९ को नियम २१ को खण्ड ‘घ’ अध्ययन गरी ती अभिव्यक्तिहरू नियमावलीअनुकूल नभएको निष्कर्ष निकालेका हुन्।
सभामुख अर्यालले रुलिङ गर्दै भने, “माननीय सदस्यले प्रयोग गर्नुभएका केही शब्दहरू संसद्को गरिमा र नियमावलीको प्रावधानअनुकूल नदेखिएकाले ती अंशहरू रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।”
प्रतिनिधि सभा नियमावलीमा सांसदहरूले छलफलका क्रममा प्रयोग गर्न नहुने शब्द तथा व्यवहारबारे स्पष्ट व्यवस्था गरिएको छ। नियमावलीअनुसार कुनै पनि सदस्यले अशिष्ट, अश्लील, अपमानजनक वा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्न पाउँदैनन्। साथै कुनै व्यक्ति, समुदाय, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने प्रकारका टिप्पणी गर्न पनि निषेध गरिएको छ।
संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन मुद्दामाथि संसद्मा बहस गर्न नपाइने व्यवस्था समेत स्मरण गराउँदै सभामुखले सांसदहरूलाई संसद्को गरिमा र संवैधानिक सीमाभित्र रहेर अभिव्यक्ति दिन आग्रह गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार पछिल्लो समय संसद्मा आवेगपूर्ण अभिव्यक्ति, व्यक्तिगत आरोप–प्रत्यारोप तथा असंसदीय भाषा प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। बादलमाथिको यो रुलिङलाई संसद्को मर्यादा कायम राख्न गरिएको चेतावनीका रूपमा हेरिएको छ।
सभामुखको निर्देशनपछि संसद्को आधिकारिक भिडियो, लिखित अभिलेख तथा दस्ताबेजहरूबाट ती विवादित शब्द हटाइने संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया