प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०८३, बिहीबार ०६:०२

काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठक विपक्षी दलहरूको अवरोधपछि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेकै बेला प्रधानमन्त्री बालेन शाह सदनमा अनुपस्थित भएको विषयलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएका हुन्।

सदनको कार्यसूचीअनुसार आज नीति तथा कार्यक्रममाथि विस्तृत छलफल गर्ने तयारी थियो। तर प्रधानमन्त्री शाह स्वयं उपस्थित नभई उठेका प्रश्नहरूको जवाफ दिने जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुम्पिएको जानकारी सभामुख डीपी अर्यालले गराएपछि विपक्षी सांसदहरूले आपत्ति जनाएका थिए।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति माग गर्दै आसनबाट उठेर नाराबाजी र विरोध जनाएका थिए। उनीहरूले महत्त्वपूर्ण नीतिगत बहसमा सरकार प्रमुख स्वयं उपस्थित हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसद् र जनप्रतिनिधिहरूलाई उपेक्षा गरेको आरोप लगाए।

बैठक सञ्चालन गर्ने क्रममा सभामुख अर्यालले पटक–पटक सांसदहरूलाई आफ्नो स्थानमा बस्न आग्रह गर्दै सदनको मर्यादा कायम राख्न अनुरोध गरेका थिए। उनले छलफलकै क्रममा आफ्ना धारणा राख्न विपक्षी दललाई आग्रह गरे पनि विपक्षी सांसदहरू अडानबाट पछि हटेनन्।

लगातारको अवरोधपछि सभामुख अर्यालले सदनको कामकारबाही अघि बढाउन नसकिने निष्कर्ष निकाल्दै बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन्। उनले जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र विपक्षी दलहरूसँग छलफल गरी सहमतिको वातावरण बनाउने प्रतिबद्धता समेत जनाएका छन्।

यस घटनाले नीति तथा कार्यक्रम पारित गर्ने संसदीय समयतालिकामा समेत असर पर्ने देखिएको छ। संसद्मा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर सत्ता र विपक्षबीच बढ्दो राजनीतिक तनावले आगामी दिनमा सदनको वातावरण थप पेचिलो बन्न सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

slot gacor