काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष तथा सांसद हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन्द्र शाह लाई जनताका प्रश्नको स्पष्ट उत्तर दिन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सांसद साम्पाङले सरकारले जनताको जिज्ञासा र चिन्ताको जवाफ दिन नसक्नु अयोग्यता र असक्षमताको संकेत भएको टिप्पणी गरे।
“जनताका प्रश्नहरूको उत्तर दिन नसक्नु भनेको अयोग्यता र असक्षमताको नमुना हो। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त ?” उनले संसद्मा प्रश्न गरे।
उनले वर्तमान अवस्थामा जनता सरकारबाटै असुरक्षित महसुस गरिरहेको दाबी गर्दै लोकतान्त्रिक शासन प्रणालीप्रति प्रश्न उठाए।
“जनता सरकारले असुरक्षित महसुस गरिरहेका छन्। जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो ? यही हो त लोकतन्त्र ?” उनले भने।
सांसद साम्पाङले सरकारद्वारा सञ्चालन भइरहेको डोजर अभियानको पनि आलोचना गरे। मन्दिर, गुम्बा तथा विद्यालयजस्ता संरचना भत्काइएको भन्दै उनले त्यसको कारणबारे प्रधानमन्त्रीसँग जवाफ मागे।
“बोल्न नसक्ने भगवानका मन्दिरहरू, गुम्बा र विद्यालयहरू भत्काउनुको कारण के हो ? के यो निर्जीव सरकार हो ?” उनले प्रश्न गरे।
उनले सरकारको गतिविधिले जनतामा आतंक सिर्जना भएको दाबी गर्दै “जताततै भत्काएको, तोडेको र फोडेको देख्दा जनता आतंकित छन्” भन्ने टिप्पणी गरे।
सम्बोधनका क्रममा सांसद साम्पाङले सीमा क्षेत्रमा छिमेकी मुलुकद्वारा भइरहेको निर्माण गतिविधिप्रति पनि सरकारको ध्यानाकर्षण गराए।
विशेषगरी महाकाली नदी आसपास भइरहेको निर्माण कार्यबारे प्रश्न उठाउँदै उनले सरकार किन मौन बसेको भन्दै आलोचना गरे।
“सिमानामा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य सरकारलाई सोधेर गरिरहेको हो वा आफूखुसी ? सरकार किन मुकदर्शक बनेको हो ? यसको उत्तर जनतालाई दिनुपर्छ,” उनले भने।
प्रतिक्रिया