काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशको पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था कायम रहेको छ।
महाशाखाले जारी गरेको पूर्वानुमान अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै अन्य प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।
आज रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहने प्रक्षेपण गरिएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी क्षेत्र र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। मौसममा आएको परिवर्तनका कारण पहाडी तथा हिमाली क्षेत्रको जनजीवनमा सामान्य असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
मौसमविद्हरूले विशेषगरी चट्याङ्गबाट बच्न खुला स्थानमा नबस्न, आवश्यक सावधानी अपनाउन तथा यात्रामा निस्कँदा मौसमको जानकारी लिएर मात्र अघि बढ्न सुझाव दिएका छन्।
प्रतिक्रिया