काठमाडौं। नेकपा (एमाले)को ललितपुर च्यासलस्थित पार्टी कार्यालय हटाउनुपर्ने अवस्था सिर्जना भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका सरकारी जग्गा तथा त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएपछि एमालेको कार्यालय पनि त्यसको दायरामा परेको हो।
मन्त्रालयले बुधबार जारी गरेको सूचनामा २०७९ सालमा लिज सम्झौताका लागि आह्वान गर्दा पनि प्रक्रियामा नआएका संस्था तथा निकायहरूको भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको उल्लेख गरेको छ।
सूचनाअनुसार तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले २०७३ जेठ ३१ र २०७४ वैशाख २१ गते सूचना प्रकाशित गर्दै भोगाधिकारमा रहेका जग्गालाई लिजमा परिणत गर्न आग्रह गरेको थियो। तर तोकिएको समयभित्र प्रक्रिया पूरा नगरेपछि त्यस्ता जग्गाको भोगाधिकार समाप्त भएको मन्त्रालयको भनाइ छ।
एमालेले तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानका नाममा २०५८ चैतमा मन्त्रिपरिषद्बाट स्वीकृति गराएर १२ रोपनी ६ आना ५ पैसा ३ दाम सरकारी जग्गा भोगचलन गर्दै आएको छ।
तर उक्त जग्गा हालसम्म कानुनबमोजिम ‘लिज’मा परिणत नगरिएकाले अब पार्टी कार्यालय रहेको संरचना खाली गर्नुपर्ने अवस्था आएको मन्त्रालयको सूचनाबाट स्पष्ट भएको छ।
प्रतिक्रिया