छापा प्रकरणप्रति मुख्यमन्त्री बानियाँको आपत्ति, अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०८३, मंगलवार ०५:१९

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले आफ्नो निजी निवास र कार्यालयहरूमा राज्यका निकायबाट गरिएको छापा मार्ने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्।

बुधबार जारी विज्ञप्तिमार्फत उनले अनुसन्धानका लागि कुनै पनि बेला उपस्थित भएर सहयोग गर्न आफू तयार रहेको अवस्थामा छापा मारिनु दुःखद भएको उल्लेख गरेका छन्।

मुख्यमन्त्री बानियाँले आफू लामो समयदेखि जनताको सेवामा समर्पित रहँदै आएको बताउँदै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माण आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे। उनले प्रदेश सरकारको नेतृत्व सम्हालेदेखि नै खर्च नियन्त्रण, आर्थिक अनुशासन र पारदर्शितालाई कडाइका साथ अघि बढाएको दाबी पनि गरेका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग द्वारा गरिएको पछिल्लो छापाबारे प्रतिक्रिया दिँदै उनले कानुनी र संवैधानिक प्रक्रियाअनुसार हुने जुनसुकै अनुसन्धानमा आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन्। साथै, विधिको शासनप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै निष्पक्ष अनुसन्धानको पक्षमा रहेको धारणा व्यक्त गरेका छन्।

विज्ञप्तिको अन्त्यमा उनले प्रदेशवासीलाई घटनासम्बन्धी फैलाइएका अफवाह र भ्रममा नपर्न आग्रह गरेका छन्। अनुसन्धानबाट छिट्टै सत्यतथ्य बाहिर आउने विश्वास व्यक्त गर्दै उनले धैर्यता अपनाउन सबैमा अपिल गरेका छन्।

मुख्यमन्त्री बानियाँले जननिर्वाचित प्रतिनिधिको रूपमा आफू सधैँ जवाफदेही रहने र अन्ततः सत्यको जित हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply