काठमाडौं । वर्षा नहुँदा र हावाहुरी नचल्दा काठमाडौं उपत्यका मा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। एक सातायता लगातार बढ्दै गएको प्रदूषण मंगलबार एयर क्वालिटी इन्डेक्स (AQI) २०० नाघेपछि अवस्था खराब बनेको हो।
वातावरण विभाग का अनुसार यस्तो स्तरको प्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा श्वासप्रश्वासका रोगीहरूलाई तुरुन्त असर गर्न सक्छ। विभागले उच्च प्रदूषणबाट जोगिन घरबाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
कचौरा आकारको उपत्यका भएकाले बर्खाबाहेक अन्य समयमा प्रदूषण थिग्रिएर बस्ने समस्या देखिने गर्छ। पछिल्लोपटक काठमाडौंमा फागुन दोस्रो साता मात्र पानी परेको थियो। त्यसयता वर्षा नहुँदा आकाश बादल र तुवाँलोले ढाकिएको छ।
वातावरण निरीक्षक गोविन्द लामिछाने का अनुसार पानी र हावा नचल्दा धुलोधुवाँ तल्लो वायुमण्डलमै थिग्रिएको हो। “बादलले वायुमण्डल ढाकेर ढकनीजस्तै काम गरेको छ। उत्सर्जन भएको धुलोधुवाँ माथि जान वा बाहिर निस्कन सकेको छैन,” उनले बताए।
यसैगरी जल तथा मौसम विज्ञान विभाग का वरिष्ठ मौसमविद् वरुण पौडेल का अनुसार लामो समय खडेरी हुँदा धुलो उत्सर्जन बढेको र मौसम स्थिर रहेकाले प्रदूषण थप बढेको हो।
मंगलबार काठमाडौं विश्वकै तेस्रो सबैभन्दा प्रदूषित सहरको सूचीमा परेको छ। प्रदूषणको सूचकांक १७४ देखि २०६ सम्म पुगेको थियो।
सबैभन्दा प्रदूषित सहरमा ढाका पहिलो र बेइजिङ दोस्रो स्थानमा रहेका छन्।
वातावरण विभागको भैँसेपाटीस्थित प्रदूषण मापन केन्द्रमा मंगलबार साँझ एक्युआई १७९ मापन गरिएको थियो, जुन जनस्वास्थ्यका लागि हानिकारक मानिन्छ।
देशका अन्य स्थानमा पनि प्रदूषण उच्च देखिएको छ।
शंखपार्क : १७०
इलाम : १७०
सुर्खेत : १६७
रत्नपार्क : १६२
कीर्तिपुर : १५९
०–५० : सामान्य
५१–१०० : मध्यम
१०१–१५० : संवेदनशील समूहका लागि अस्वस्थकर
१५१–२०० : सबैका लागि अस्वस्थकर
२०० माथि : अत्यन्त खतरनाक
मौसमविद्हरूका अनुसार आगामी केही दिनमा हल्का वर्षा हुन सक्ने भएकाले प्रदूषण घट्ने सम्भावना छ।
मौसमविद् वरुण पौडेलका अनुसार बुधबारदेखि केही दिन देशका विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको छ, जसले वायुमण्डलमा रहेको धुलोधुवाँ कम गर्न मद्दत गर्नेछ।
वातावरण विभागले सर्वसाधारणलाई निम्न सावधानी अपनाउन आग्रह गरेको छ :
घरबाहिर निस्कँदा मास्क प्रयोग गर्ने
फोहोर वा बालीनालीका अवशेष नजलाउने
वन डढेलो नलगाउने
निर्माण कार्य गर्दा धुलोधुवाँ नियन्त्रण गर्ने
उद्योग सञ्चालन गर्दा सरकारी मापदण्ड पालना गर्ने
सवारीसाधन नियमित मर्मत गर्ने
विशेषज्ञहरूले मौसम परिवर्तन नभएसम्म सावधानी अपनाउन र अनावश्यक रूपमा बाहिर लामो समय नबस्न आग्रह गरेका छन्।
प्रतिक्रिया