काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो प्रतिज्ञापत्रमा युवा र महिला उद्यमीलाई ५० लाख रुपैयाँसम्म विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ।
कांग्रेसका अनुसार, उद्यमशीलता प्रवर्द्धन र पूँजी बजारमा पहुँच विस्तार गर्ने उद्देश्यले यो योजना अघि सारिएको हो। नवीन सोच भएका युवा र महिला उद्यमीलाई योजनाको आधारमा ५ देखि ५० लाख रुपैयाँसम्म विना धितो कर्जा उपलब्ध गराइने प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ।
साथै, क्राउड फन्डिङ र भेन्चर क्यापिटल जस्ता वैकल्पिक वित्तीय साधनहरूको कानुनी व्यवस्था गरी लगानी सुरक्षित गर्ने दृष्टिकोण पनि प्रतिज्ञापत्रमा राखिएको छ। साना तथा मझौला उद्योग र कृषि कर्जामा ब्याजदर स्थिर राख्ने नीति अपनाइने जनाइएको छ।
युवा उद्यमीलाई ५ देखि ५० लाख रुपैयाँसम्म ‘बिउ पूँजी’ उपलब्ध गराउने योजना पनि अघि सारिएको छ। यस अन्तर्गत २५ प्रतिशत अनुदान, ५० प्रतिशत सहुलियत ऋण र २५ प्रतिशत स्व–लगानीको ढाँचा लागू गरिने उल्लेख गरिएको छ।
वैदेशिक रोजगारीमा गएका युवाहरूका लागि तीन लाख रुपैयाँसम्म विना धितो सहुलियत ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ।
त्यसैगरी, दलित युवायुवतीलाई नयाँ व्यवसाय सुरु गर्न ५० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने योजना पनि प्रतिज्ञापत्रमा समावेश गरिएको छ। स्नातकोत्तर तह अध्ययन पूरा गरेका दलित युवायुवतीलाई परियोजना धितोमा ५० लाख रुपैयाँसम्म सहुलियत ऋण उपलब्ध गराइने उल्लेख गरिएको छ।













प्रतिक्रिया