काठमाडौँ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न आएका दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरेको छ।
संस्थानका प्रशासक शैलेशराज कुँवरका अनुसार दुई हजार २०० नागा बाबासहितका साधुसन्तलाई कूल २२ लाख ५० हजार रुपैयाँ नगद दक्षिणा प्रदान गरिएको छ। संस्थानले उपलब्ध गराएको उक्त रकम बराबरको आधा रकम कोषले थपेर रु ११ लाख २५ हजार दक्षिणा स्वरूप वितरण गरेको जनाएको छ।
मङ्गलबार बिहान ११ बजेदेखि पशुपतिनाथ मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ कार्यक्रम सुरु गरिएको थियो। संस्थानका प्रवक्ता जनक पोखरेलका अनुसार नेपाल र भारतका विभिन्न अखडाबाट आएका नागा बाबासहितका साधुसन्तलाई रु ५५१ देखि रु ११ हजारसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो।
पशुपति क्षेत्र र थापाथली क्षेत्रमा गरी चार हजारभन्दा बढी साधुसन्त आएको अनुमान गरिए पनि पहिलो चरणमा दुई हजार २०० जनालाई बिदाइ गरिएको र बाँकीलाई पनि क्रमशः बिदाइ गरिने जनाएको छ।
महाशिवरात्रिमा पशुपतिनाथको पूजा, आराधना र दर्शनका लागि आएका नागा बाबासहितका साधुसन्तलाई प्रत्येक वर्ष फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहँदै आएको छ। कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाषचन्द्र जोशीका अनुसार संस्थानले दिएको दक्षिणामा कोषले आधा रकम थपेर वितरण गरिएको हो।
महाशिवरात्रिका अवसरमा फाल्गुन कृष्ण एकादशीदेखि औँसीसम्म नागा बाबासहितका साधुसन्तलाई कोषले नै खाने, बस्ने तथा धुनी बाल्ने दाउराको व्यवस्था गर्ने प्रचलन छ।
यस वर्ष बिदाइका क्रममा फाल्गुन कृष्ण एकादशीका दिन रामचन्द्र पौडेलले सङ्कल्प गर्नुभएका लोटा, चम्मर, घण्टी, राडी एक सेट तथा दक्षिणासहित २१ प्रकारका सामग्रीसमेत समावेश गरिएको संस्थानले जनाएको छ।









प्रतिक्रिया