दुर्गा प्रसाईं पुनः पक्राउ, निर्वाचन आचारसंहिता उल्लंघनको आरोप

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ फाल्गुन २०८२, मंगलवार ०६:३९

काठमाडौं ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाट प्रहरीले पुनः पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन तथा सार्वजनिक शान्ति–सुरक्षामा असर पारेको विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले पत्राचार गरेपछि प्रहरी कारबाही अघि बढाइएको हो। सोही आधारमा प्रसाईंलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार प्रसाईंका हालैका अभिव्यक्ति र गतिविधिबारे आयोगमा उजुरी परेपछि छानबिन प्रक्रिया तीव्र पारिएको थियो। अनुसन्धानका क्रममा सार्वजनिक शान्ति भंग हुन सक्ने सम्भावित गतिविधि तथा निर्वाचन आचारसंहितासम्बन्धी विषयमा सोधपुछ गरिने बताइएको छ।

यसअघि पनि प्रसाईं विभिन्न आन्दोलन, अभिव्यक्ति र सार्वजनिक गतिविधिका कारण पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन्। उनका समर्थकहरूले भने पक्राउलाई राजनीतिक प्रेरित कदम भन्दै विरोध जनाएका छन् भने प्रहरी प्रशासनले कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया