टुँडिखेलमा ‘अमेरिकी सेना परेड’ दाबी भ्रामक : नेपाली सेना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८२, सोमबार ०६:४१

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिका अवसरमा राजधानी काठमाडौँको टुँडिखेलमा अमेरिकी सेनाले परेड खेलेको दाबी गर्दै सामाजिक सञ्जालमा तस्बिर तथा भिडियोहरू भाइरल भएका छन्। ती सामग्रीसँगै ‘नेपाली सेनाले विदेशी सेना ल्याएर देश बुझाइसक्यो’ जस्ता टिप्पणीसमेत देखिएका छन्।

तर नेपाली सेनाले उक्त दाबी पूर्णतः भ्रामक भएको स्पष्ट पारेको छ। आइतबार बिहान टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित नेपाली सेनाको २६३ औँ वार्षिकोत्सव समारोहमा विदेशी मित्रराष्ट्रका सैनिक ब्याण्ड टोलीहरूले सांगीतिक प्रस्तुति मात्र दिएको र कुनै पनि विदेशी सेनाले परेड वा सैन्य अभ्यास नगरेको सेनाले जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार सेना दिवसमा मित्रराष्ट्रका सैनिक टोलीलाई आमन्त्रण गर्ने प्रचलन विगतदेखि नै रहँदै आएको छ। “हामीले निमन्त्रणा गर्दा उहाँहरू आउनुहुन्छ, उहाँहरूले बोलाउँदा हामी जान्छौँ। यो सामान्य कूटनीतिक अभ्यास हो,” उनले बताए।

नेपाल र अमेरिकी सेनाबीच सन् १९४७ यता सैन्य सम्बन्ध रहँदै आएको छ। यस अवधिमा नेपाली सेनाका अधिकृतहरूले अमेरिकाका विभिन्न स्टाफ कलेजमा अध्ययन–तालिम लिँदै आएका छन् भने विशेष अवसरमा अमेरिकी सैनिक टोली नेपाल आउने गरेका छन्। त्यस्तै, नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यासहरू पनि हुँदै आएका छन्। यसबाहेक चिनियाँ जनमुक्ति सेना, भारतीय सेना, पाकिस्तानी सेना तथा बेलायती सेनासँग समेत नेपालका द्विपक्षीय सैन्य सम्बन्ध र संयुक्त अभ्यास हुने गरेका छन्।

अन्तर्राष्ट्रिय अभ्यासको हिस्सा

सैन्य विज्ञहरूका अनुसार राष्ट्रिय वा सेना दिवसजस्ता समारोहमा विदेशी सैनिक टोलीको सहभागिता अन्तर्राष्ट्रिय सैन्य कूटनीतिक चलन हो। उदाहरणका रूपमा भारतको गणतन्त्र दिवस, फ्रान्सको बास्टिल डे, रुसको विजय दिवस, चीनको राष्ट्रिय दिवसजस्ता समारोहमा विदेशी सैनिक टुकडीको सहभागिता नियमित अभ्यासका रूपमा रहँदै आएको छ।

नेपालमा पनि महाशिवरात्रिका अवसरमा मनाइने सेना दिवसमा भारत, बेलायत, चीन, संयुक्त राज्य अमेरिका, पाकिस्तानलगायत देशका सैनिक प्रतिनिधि वा ब्याण्ड टोली सहभागी हुने प्रचलन छ।

नेपाली सेनाले सामाजिक सञ्जालमा फैलाइएका अपुष्ट दाबीहरूमा विश्वास नगर्न र आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ। राष्ट्रिय तथा सैनिक परेडहरू आजकाल केवल आन्तरिक उत्सवमा सीमित नरही अन्तर्राष्ट्रिय कूटनीति, सैन्य सहकार्य र आपसी विश्वास अभिवृद्धिको महत्वपूर्ण मञ्च बन्दै गएको विश्लेषकहरू बताउँछन्।

प्रतिक्रिया

Leave a Reply