चुनावी गतिविधिमा नदेखिने देउवा, सचिवालयद्वारा सक्रियताको हल्ला खण्डन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ फाल्गुन २०८२, शुक्रबार ०६:५७

काठमाडौं  ।  शेरबहादुर देउवा पछिल्लो समय कुनै पनि चुनावी गतिविधिमा सहभागी नहुने भएका छन्। नेपाली कांग्रेसका निवर्तमान सभापति देउवाको सचिवालयले हालसम्म कुनै पनि चुनावी सभा, कार्यक्रम वा अभियानमा सहभागी हुने योजना नरहेको स्पष्ट पारेको छ।

केही सञ्चारमाध्यममा देउवा चुनावी अभियानमा सक्रिय हुने तयारीमा रहेको भन्ने समाचार प्रकाशित भएपछि सचिवालयले ध्यानाकर्षण गराउँदै त्यस्ता खबर निराधार भएको जनाएको हो। सचिवालयका अनुसार देउवा हाल कुनै पनि राजनीतिक कार्यक्रममा सहभागी हुने तयारीमा छैनन्।

‘चुनावी सभा वा अन्य कुनै पनि कार्यक्रममा जाने कुनै योजना छैन,’ सचिवालयले स्पष्ट शब्दमा उल्लेख गरेको छ। यस सार्वजनिक धारणा पछि देउवाको आगामी भूमिकाबारे पार्टीभित्र र बाहिर फैलिएका विभिन्न अड्कलबाजीसमेत रोकिएको देखिएको छ।

चार पटक प्रधानमन्त्री भइसकेका देउवा कांग्रेसको संगठन विस्तार, सत्ता सहकार्य र गठबन्धन राजनीतिमा लामो समयदेखि निर्णायक भूमिका खेल्दै आएका नेता हुन्। तर, गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन भएसँगै उनी औपचारिक रूपमा पार्टी नेतृत्वबाट बाहिरिएका छन्।

नेतृत्व परिवर्तनपछि देउवा पार्टीका दैनिक गतिविधिमा सक्रिय देखिएका छैनन्। कांग्रेसभित्र शक्ति सन्तुलन र पुस्तान्तरणको सन्दर्भमा उनको मौनतालाई अर्थपूर्ण रूपमा हेरिएको छ। चुनावी माहोल तातिँदै जाँदा देउवाजस्तो वरिष्ठ नेताको अनुपस्थितिलाई कांग्रेसभित्र विभिन्न कोणबाट मूल्याङ्कन गरिएको छ।

कतिपयले यसलाई स्वाभाविक विश्रामका रूपमा लिएका छन् भने कतिपयले आगामी दिनमा देउवा कुन भूमिकामा देखिन्छन् भन्ने प्रश्न उठाइरहेका छन्। तर, सचिवालयको पछिल्लो स्पष्टिकरणपछि तत्काल देउवा चुनावी मैदानमा देखिने सम्भावना भने न्यून देखिएको छ।

प्रतिक्रिया

Leave a Reply