काठमाडौँ। नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताएका छन्। बिहीबार चावहिलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले जेनजी पुस्ताले उठाएका जायज मागप्रति एमालेको कुनै विमति नरहेको स्पष्ट पार्दै घटनाको सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र अनुसन्धान आवश्यक रहेको बताए।
उनले भदौ २३ गते बिहानको शान्तिपूर्ण भेला र युवाले उठाएका मागप्रति सम्मान व्यक्त गर्नुपर्ने धारणा राख्दै निषेधित क्षेत्र तोडेर संसद् भवनमाथि आक्रमण र आगजनी भएको विषयमा गम्भीर छानबिन हुनुपर्ने बताए। “छानबिनमा जोसुकै दोषी देखिए पनि, एमालेका कुनै पनि तहका नेता परे पनि हामी दोष भोग्न तयार छौं, तर अनुसन्धान निष्पक्ष हुनुपर्छ,” उनले भने। साथै उनले अवोध बालबालिकालाई ढालका रूपमा प्रयोग गरिएको आरोप लगाउँदै योजनाबद्ध रूपमा घटना गराइएको दाबी गरे।
सोही अवसरमा डा. भट्टराईले आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्दै स्थानीय पूर्वाधार सुधार, सुशासन स्थापना र रोजगारी सिर्जनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाए। उनका अनुसार काठमाडौं–४ मा ढल व्यवस्थापन, ट्राफिक लाइट जडान, पैदलयात्रीमैत्री सडक निर्माण तथा सार्वजनिक यातायात सुधार तत्काल आवश्यक छन्। “जनताको दैनिक जीवनसँग जोडिएका समस्या समाधान नगरी विकासको नारा मात्र पर्याप्त हुँदैन,” उनले भने।
उनले वातावरणीय प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन र स्वच्छ आवासीय वातावरण निर्माणलाई पनि प्राथमिकतामा राखेको बताए। विशेषगरी घरमै बस्ने वृद्धवृद्धाका लागि अनुकूल सार्वजनिक सेवा र सुविधा विस्तार गर्ने योजना रहेको उनको भनाइ थियो।
युवा विदेश पलायनको विषयमा उनले देशभित्रै अवसर सिर्जना गर्न नीतिगत र संरचनागत सुधार आवश्यक रहेको बताए। वैदेशिक लगानी आकर्षित गर्न पूर्वाधार विकास र नीतिगत स्थिरता जरुरी रहेको उल्लेख गर्दै उनले लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्ने वातावरण बनाइने बताए।
डा. भट्टराईले मालपोत, नापी लगायत सरकारी कार्यालयलाई पूर्ण डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना पनि सार्वजनिक गरे। डिजिटल प्रणालीले पारदर्शिता बढाउने, ढिलासुस्ती र भ्रष्टाचार घटाउने तथा सेवाग्राहीलाई सहजता प्रदान गर्ने विश्वास उनले व्यक्त गरे।
अघिल्लो निर्वाचनमा झिनो मतान्तरले पराजित भएको स्मरण गर्दै उनले यसपटक पार्टी एकताबद्ध र जनसमर्थन बलियो रहेको दाबी गरे। “हामी आत्मविश्वासका साथ अघि बढिरहेका छौं,” उनले भने।
समग्रमा डा. भट्टराईले व्यावहारिक विकास, पारदर्शी शासन र अवसरमुखी अर्थतन्त्रमार्फत काठमाडौं–४ लाई सम्भावनायुक्त र व्यवस्थित क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया