काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रांगणमा सञ्चालन गरिएको “खेलाडीको वरियता निर्धारण सहितको पाँचौं बागमती स्तरीय खुला लिग तेक्वान्दो प्रतियोगिता–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगितामा काठमाडौंको ढल्को तेक्वान्दो डोजाङ बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा टिम च्याम्पियन बनेको छ । ढल्कोले कुल ७ स्वर्ण र १ रजत पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।
जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोग तथा कागेश्वरी मनोहरा नगरपालिकाको आयोजनामा सम्पन्न प्रतियोगितामा नुवाकोटको पोखरी तेक्वान्दो डोजाङ २ स्वर्ण, ३ रजत र २ कांस्यसहित दोस्रो स्थानमा रह्यो । त्यस्तै काठमाडौंको लैनचौर तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र २ कांस्यसहित तेस्रो स्थानमा सीमित भयो ।
थलीस्थित कागेश्वरी मनोहरा नगरपालिकाको हाताभित्र आयोजित प्रतियोगितामा पुरुषतर्फ ढल्कोका अर्पण लामा र महिलातर्फ काठमाडौंको वेस्ट डिभिजनकी स्मारिका शाही ठकुरी उत्कृष्ट खेलाडी घोषित भए ।
विजेता खेलाडी तथा टिमलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख सन्तोष बुढाथोकी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी लगायतले एक विशेष कार्यक्रमबीच पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा कागेश्वरी मनोहरा नगरपालिकाले बागमती प्रदेश तेक्वान्दो संघलाई सहयोग स्वरूप ल्यापटप प्रदान गरेको थियो ।
दुईदिने प्रतियोगितामा २ सय २७ खेलाडी ले विभिन्न २० स्पर्धा मा प्रतिस्पर्धा गरेका थिए ।
यो प्रतियोगिता लिगको दोश्रो संस्करणको पहिलो खेल हो भने समग्रमा पाँचौं प्रतियोगिता हो । यसअघि पहिलो संस्करणअन्तर्गत चार प्रतियोगिता सम्पन्न भइसकेका छन् । लिगको हरेक संस्करणमा एक वर्षभित्र तीन महिनाको अन्तरालमा चार प्रतियोगिता आयोजना हुने व्यवस्था रहेको आयोजकले जनाएको छ ।
लिगअन्तर्गत प्रत्येक तौल समूहमा प्रथम हुनेलाई १० अंक, दोस्रो हुनेलाई ७ अंक र तेस्रो हुनेलाई ३ अंक प्रदान गरिनेछ । चारवटा लिग सम्पन्न भएपछि समग्र प्रदर्शनका आधारमा एक उत्कृष्ट पुरुष र एक उत्कृष्ट महिला खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ ।
त्यसैगरी, उपत्यका बाहिरका खेलाडीले लिगको हरेक स्पर्धामा शीर्ष तीन स्थान हासिल गरेमा आगामी लिगमा खाना, बसोवास र यातायात सुविधा उपलब्ध गराइनेछ । मोटरसाइकल पुरस्कार तथा खेलाडी सुविधाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गर्ने जनाएको छ ।
प्रदर्शनकै आधारमा दोश्रो संस्करणको चौथो लिग सम्पन्न भएपछि हरेक तौल समूहका शीर्ष तीन खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया